जुवा काण्ड : छानबिनका लागि समिति गठन
कैलाली प्रहरीले रकम असुलेर जुवाडे भगाएको घटनाको छानबिन गर्न समित गठन गरेको छ । संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले उक्त आरोपबारे छानबिन गरिरहेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बिक्रम चन्दले प्रहरीले रकम असुलेर जुवाडे भगाएको घटनाबारे छानबिन गर्न गठित समितिलाई ७ दिनको समय दिइएको जानकारी दिए ।
उक्त समितिमा प्रहरी उपरीक्षक दिलिप देउवा र प्रहरी निरीक्षक हिम्मत बोहरा सदस्य छन्।गत सोमबार कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित एएफसी रेष्टुरेन्टमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम अनुसन्धान समूह (आरआइटी) टोली पुगेको थियो ।करीब १५ लाखको जुवा भइरहेको सूचना पाएको प्रहरीले ८ लाख असुलेर जुवाडेलाई भगाएको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त आरोपमा सत्यता नरहेको बताउँदै आएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी त्यो दिन प्रहरी त्यहाँ सूचना संकलनका लागि मात्र गएको दाबी गर्दै आएका छन् ।
उनले सादा पोशाकमा तीन जना प्रहरी खटिएको बताउँदै उनीहरुलाई देख्ने बितिकै जुवाडे भागेको जिकिर गर्ने गरेका छन् भने जुवाखालबाट नगद ८५ हजार मात्रै बरामद भएको उनी बताउँछन् । तर प्रहरीले यो घटनामा गुपचुप राखेको थियो ।
प्रहरीको भूमिकाबारे समाचार प्रकाशित भएपछि रेष्टुरेन्टका सञ्चालकसहित केहीलाई जुवा खेलेको आरोपमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।
२४ साउन २०७८, आइतवार १५:५२ बजे प्रकाशित






























