सरकारले सातै प्रदेशमा पठायो खोप, कुन उमेर समूहलाई लगाइँदै छ ?
सरकारले मंगलबारबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो मात्रा खोप लगाउन गरेको निर्णयपछि सातै प्रदेशमा खोप ढुवानी गरिएको छ । ५५ वर्षदेखि ५९ वर्ष उमेर समूह र ६० वर्षमाथि छुटेका १८ लाख ६ हजारजनालाई भेरोसेलको पहिलो मात्रा खोप लगाउने गरी खोप वितरण थालिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यो संख्या अनुमानित मात्रै हो । अनुमानित संख्याका आधारमा सात प्रदेशमा खोप ढुवानी सुुरु गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् । सरकारले सोमबार साँझ २९ असारबाट खोप लगाउन सुरु गर्ने निर्णय गरेको थियो ।
एक्कासि सो निर्णय भएपछि खोप वितरणमा समस्या देखिएको छ । ‘स्वास्थ्य मन्त्रालयले २४ घन्टाको समयसमेत नदिई खोप सुरु गर्ने निर्णय ग¥यो । राजधानीबाहिर खोप पुर्याउन सकिएको छैन । त्यसैले खोप ढुवानीमा एक–दुई दिन लाग्नेछ,’ आपूर्ति महाशाखाका एक अधिकारीले भने ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले १८ लाख ६ हजार ६५ जना खोप लगाउने सूचीमा पर्ने भए पनि ९० प्रतिशत अर्थात् १६ लाख २५ हजार ४९५ व्यक्तिले खोप लगाउने अनुमान गरिएको छ । सोहीअनुसार १६ लाख ८१ हजार ५५० डोज खोप प्रदेशहरूमा पठाइएको हो ।
चीनबाट ल्याएको भेरोसेल खोप २६ लाखमध्ये करिब १७ लाख ४० हजार ९६४ डोज लगाउन बाँकी छ । खोप लगाउँदै जाँदा थप खोप आउने अनुमान स्वास्थ्य अधिकारीहरूको छ । पहिलो चरणमा मंगलबारदेखि बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा खोप कार्यक्रम सुरु भएको छ । अन्य प्रदेशमा खोप पुगेपछि अभियान चल्नेछ ।
३० असार २०७८, बुधवार ०९:१५ बजे प्रकाशित













