प्रधानमन्त्री देउवाले लिए शपथ, ओली उपस्थित भएनन्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
यसअघि राष्ट्रपति कार्यालयले जारी गरेको प्रधानमन्त्री नियुक्तिको व्यहोरालाई सच्याएपछि नवनियुक्त प्रधानमन्त्री देउवा शपथ लिन राजी भएका हुन् ।
शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहे ।
नवनियुक्त प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि जारी गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
नवनियुक्त प्रधानमन्त्री देउवाले उक्त नियुक्ति नसच्चिएसम्म शपथ ग्रहण नगर्ने अडान लिएपछि नियुक्तिको व्यहोरा सच्याई धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरिएको थियो ।
२९ असार २०७८, मंगलवार २१:३२ बजे प्रकाशित













