punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्णाली नदीको कटानले टीकापुरका चार वडा खतरामा, स्थानीयमा त्रास

Chaupati
safha napa

कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदीले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ । रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

शाहीपुरमा नदीले तीव्र कटान गरेपछि रोकथामका लागि तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग छ। नदी कटान भएर बस्तीमा पसेमा नगरपालिकाका चार वडा खतरामा पर्ने देखिएको छ । नदी कटान भएमा वडा नम्बर ५, ६, ७ र ८ का नागरिक प्रभावित हुनेछन् । सिँचाइ आयोजनाले छ वर्षअघि शाहीपुर क्षेत्रमा तटबन्ध बनाएको छ ।

गत वर्ष पनि सो तटबन्ध भत्किएपछि आयोजना, नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा जैविक तटबन्ध गरेर बस्ती जोगाइएको थियो । आयोजनाले निर्माण गरेको ११ मिटर चौडाइको तटबन्ध नदीले कटान गर्दा गत वर्ष झण्डै दुई मिटर मात्रै बाँकी थियो । यस वर्ष पनि तटबन्ध निर्माणका लागि आयोजनाले बोलपत्र आह्वान गरिसकेको जनाएको छ ।

‘तत्काल कटान शुरु भएपछि सोमबार सिँचाइ आयोजनाका प्राविधिकले निरीक्षण गरेका छन् । केही रोकथामका लागि स्थानीय सरकारले पहल गरेमा अस्थायी तटबन्ध गरेर बस्ती जोगाउन आयोजनाले सघाउने भनेको छ,’ टीकापुर–५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारूले भने, ‘नदी कटान हुँदा कर्णाली नदी गाउँ पस्ने खतरा बढेको छ। नदी कटान तत्काल नरोके टीकापुर–५ को शाहीपुर र सिम्रेनी, ६ का केही भाग, ७ को सत्ती र ८ को धनसिंहपुर प्रभावित हुनेछन्। हजारौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुनेछ। क्षतिको अनुमान गर्नै सकिँदैन ।’

नदी कटान सुरु भएपछि वडाध्यक्षले सम्बन्धित निकायमा जानकारी गराएको बताएका छन्। केही दिनअघि नगरपालिकाको विपद् समितिको बैठकले समेत कटानको जोखिम रहेका क्षेत्रमा जैविक तटबन्ध गर्ने निर्णय गरेको थियो। नगरप्रमुख तपेन्द्रबहादुर रावल नदीले धार परिवर्तन गरिरहेका कारण नदी कटान रोक्न निर्माण गरिएका तटबन्ध हरेक वर्ष भत्कन थालेको बताउनुहुन्छ । ‘हामीले आगामी दिनमा भौतिक संरचना बनाउँदा दिगोपनमा ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘अघिल्लो वर्ष बनाएका संरचना अर्को वर्ष नदीमा पानी बढ्दा बगेर जान थालेका छन् । यसले बस्ती थप जोखिममा पर्छ ।’

कर्णाली नदी कटानले टीकापुरको शाहीपुरमात्र होइन, वडा नम्बर २, वडा नम्बर ८ को श्रीलङ्का, सत्ती पुलसमेत जोखिममा छ । केही दिनअघि सत्ती पुलको बर्दियातर्फ कटान गरेपछि छ दिन अवरुद्ध भएको थियो । तत्कालका लागि अस्थायीरूपमा मर्मत गरेर पुल सञ्चालन भएको छ । स्थानीयवासी रुपेश बुढा सरकारले समयमै नदी नियन्त्रणका लागि दीर्घकालीन योजना अघि नसारे कैलाली र बर्दिया जिल्ला नदीकै कारण जोखिममा पर्ने बताउनुहुन्छ ।

‘नदी कटानले बर्सेनि हजारौँ बिघा जमीन कटान हुने गरेको छ । नदी तटीय क्षेत्रका नागरिक बर्सेनि विस्थापित हुन थालेका छन्,’ बुढाले भने, ‘यसले खेतीयोग्य जमीन बाँझो रहने गरेका छन् । नागरिक र धनजनको सुरक्षाका लागि समाधानतर्फ सबैको ध्यान जानुपर्छ ।’ नदी तटीय क्षेत्रका नागरिक बर्सातको समयमा रातभरि सुत्न नसक्ने अवस्था आएको टीकापुर–५ शाहीपुरका गगनसिंह ठकुल्लाले बताए ।


२९ असार २०७८, मंगलवार २०:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु