कञ्चनपुरमा जारी निषेधाज्ञा फेरी लम्बियो
विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिअन्ट सहितको कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान तथा उपचारका लागि कञ्चनपुर जिल्लामा यही बैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको समय पुनः एक हप्ता थप गरी असार १४ गतेसम्म कायम गरिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रको सोमबार दिउँसो बसेको बैठकबाट गरिएका निर्णयको आधारमा कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ को उपदफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अधिकार प्रयोग गरी असार १४ गते राति १२ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।
हालसम्मको निषेधाज्ञालाई अत्यावश्यक सेवामा केही खुकुलो गरी आदेश जारी गरिएको छ ।
उहाँका अनुसार, स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक पसल व्यवसाय साबिकको जस्तै र खाद्यवस्तु, कृषि बीउ बिजन तथा सामग्री, वर्कसप, निर्माण सामग्री पसल व्यवसाय दैनिक बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ भने सोही समयमा मात्रै तरकारी तथा फलफूलको हकमा सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य संघको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी घुम्ती पसल सञ्चालन गर्न सकिने छ ।


७ असार २०७८, सोमवार १४:४१ बजे प्रकाशित





























