सुदूरपश्चिममा आज एकैदिन ९ जनाको मृत्यु, कैलालीमा मात्रै ५ जनाको ज्यान गयो
फाइल फोटो
सुदूरपश्चिममा आज एकैदिन कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । त्यसमध्ये कैलालीमा मात्रै पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, कञ्चनपुरमा तीन र बझाङमा एक जनाको मृत्यु भएको छ ।
कैलालीमा जिल्लाको घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय युवक, धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, गोदावरी नगरपालिकाकी ८७ वर्षीया एक महिलाको घरमै मृत्यु भएको छ। केहिदिन अघि कोरोना संक्रमण पुस्टि भएकी ती महिलाको होम आइशोलेसनमा मृत्यु भएको हो ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे, दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको बुधबार राति १२ बजे र भीमदत्त नगरपालिका १८ की ३६ वर्षीया एक महिलाको बिहीबार बिहान ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।
भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनैपनि ट्राभल हिस्ट्री नभएको र उनीमा ब्लड क्यान्सरको समस्या रहेको बताइएको छ। उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बझाङमा पनि एक पुरुषको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए।
स्वास्थ्यमा समस्या भइ उपचारका लागि बुधबार अस्पताल पुगेका ती पुरुषमा ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
१६ वैशाख २०७८, बिहीवार १५:३७ बजे प्रकाशित













