टीकापुर पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा
कैलालीको टीकापुर नगरपालिका पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ ।
नगरपालिकाले २०७७ माघमा नगरभित्रको घरधुरी सर्वेक्षण गरी खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए।
‘जन्मेदेखि १५ महिनाका २८ बालबालिकालाई खोप नलगाएको सर्वेक्षणले देखाएको छ भने १६ देखि २३ महिना सम्मका १० बालबालिका खोप लगाउन छुटेका रहेछन्’, स्वास्थ्य शाखा प्रमुख रावलले भने, ‘ती सबै बालबालिकालाई खोपको दायरामा ल्याउनुको साथै वडा नं २, ६ र ८ मा दोहोरो परिक्षण गर्दा कुनै बालबालिका खोप लगाउनबाट नछुटेको पाइएपछि पूर्ण खोन सुनिश्चितता पालिका घोषणा गरेका हौँ।’
कैलाली जिल्ला खोप समन्वयसमितिका अध्यक्ष सूर्यबहादुर थापाले नेपाललाई सम्वृद्ध बनाउन बालबालिकालाई सम्वृद्धिको बाटोमा डोर्याउन आवश्यक रहेको बताए। उनले खोप पाउनु बालबालिका नैसर्गिक अधिकार भएको बताउँदै त्यस्मा सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।
उनले कोरोनाको जोखिम बढ्दै गएको बताउँदै त्यसको नियन्त्रणका लागि कैलालीका सबै स्थानीय तहलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताए।
टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बालबालिकाको भविष्य सुनिश्चित् गर्न सकेमात्र सम्वृद्ध समाज निर्माण हुनसक्ने भन्दै स्वास्थ्य क्षेत्रको विकासलाई नगरपालिकाले सधैँ प्राथमिकतामा राख्ने गरेको बताए।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले औषधोपचारले सञ्चो नहुने रोग खोपले सञ्चो हुने गरेको बताउँदै २०३४ सालमा दुईवटा एन्टिजेन खोपबाट शुरु गरेको अभियानमा अहिले १२ वटा रोगविरुद्धको खोप लगाइँदै आएको बताए।
९ वैशाख २०७८, बिहीवार १६:३९ बजे प्रकाशित






























