माधव नेपाल पक्षले बोलायो राष्ट्रिय कार्यकर्ता भेला
नेकपा एमालेका बरिष्ट नेता माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र निर्णयको विरुद्धमा कार्यदिशा तय गर्न आगामी चैत ४ र ५ गते काठमाण्डौमा बृहत् राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ।
शनिबार राजधानीको एक होटलमा सांसदसमेत रहेका केन्द्रीयहरुको भेलाले उक्त निर्णय गरेको हो। उक्त भेलामा केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिहरुलाई डाकिएको छ ।
भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता भीम रावलले बताए ।
आजको बैठकले पार्टीका कमिटी र जनवर्गिय संगठनहरुलाई क्रियाशिल बनाउने निर्णय गरेको नेता रावलले जनाएको छ।
२९ फागुन २०७७, शनिवार १६:३९ बजे प्रकाशित






























