एमालेको निर्णय : माधव पक्षका सबै प्रदेश इन्चार्ज हटाइयो, सुदूरपश्चिम प्रदेश इन्चार्जमा भट्ट
नेकपा (एमाले)को आज बसेको केन्द्रीय समिति बैठकले माधव पक्षका सबै प्रदेश इन्चार्जलाई हटाएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका हुन् ।
सोही बैठकले विवादपछि माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा ‘बादल’ सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ।
उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए। त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।
बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ। बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।
२८ फागुन २०७७, शुक्रवार १७:०४ बजे प्रकाशित






























