माओवादी केन्द्रमा फर्किए प्रदेश सांसद जोशी
सुदूरपश्चिम प्रदेश सभाका सदस्य महेशदत्त जोशी नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । २०७४ सालको प्रदेश सभाको निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को १ बाट जोशी निर्वाचित भएका हुन ।
माओवादी केन्द्रबाट निर्वाचित सांसद जोशी सुदूरपश्चिम प्रदेश सभामा केही समय अघि सम्म नेकपाको ओली समूहमा थिए ।सर्वोच्च अदालतले नेकपा बदर गरेर साबिक एमाले र माओवादी मात्रै राखेको अवस्थामा आफू माओवादीमा फर्किएको उनले जानकारी गराए । नेकपा विवाद हुँदा सुदूरपश्चिम प्रदेश सरकारमा ओली समूहका ८ जना मात्रै सांसद देखिएका थिए ।
‘राजनीतिमा नयाँ समीकरण भएको छ’ उनले भने ‘गोलाकार भित्रको हँसिया हतौडाबाट चुनाव जितेको थिए अहिले त्यही फर्किए ।’ सांसद जोशीले काठमाडौँमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर पुरानै पार्टीमा फर्किएको बताएका थिए ।
२०७४ सालमा भएको निर्वाचनमा चुनावी गठबन्धन गरेर यी दुई दलले प्रदेश सभामा सिट जितेका थिए । जसमा पूर्व एमालेले २५ सिट र पूर्व माओवादी केन्द्रको १४ रहेको थियो ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा १२ जना काँग्रेसका २ जना राजपाका र अन्य सबै नेकपाका सांसद थिए ।
२४ फागुन २०७७, सोमवार १३:५८ बजे प्रकाशित













