भागरथी हत्या प्रकरण : बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि

बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोस्टमार्टम रिपोर्टबाट उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि भएको हो।

जिल्ला अस्पताल बैतडीमा भागरथीको शवको पोस्टमार्टम गरिएको थियो । रिपोर्टअनुसार किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीले बताए । ‘पोस्टमार्टममा कज अफ डेथ बलात्कारपछि घाँटी थिचेको देखायो,’ उनले भने, ‘शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेको जस्ता देखिएकै थियो ।’

शवको परीक्षणमा किशोरीको घाँटी निमोठिनुका साथै अन्य केही भित्री चोटहरू पनि रहेको उनले बताए । उनले थप अनुसन्धान पनि जारी रहेको बताए ।

बलात्कारपछि हत्या भएको पुष्टि भएपछि प्रहरीले त्यो सामूहिक बलात्कार हो वा होइन भन्नेबारे अनुसन्धान अगाडि बढाएको छ । डीआईजी सुवेदीले घटनाको अनुसन्धानका लागि घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको बताए । प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा सहज हुने उनले बताए ।

गएको बुधवार विद्यालयबाट फर्किने क्रममा हराएकी भागरथी बिहीबार साँझ दोगडाकेदार गाउँपालिकाकै लवलेक सामुदायिक वनमा हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन गरिएको छ ।


२६ माघ २०७७, सोमवार १८:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु