बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट स्थापना
धनगढी उप–महानगरपालिका वडा नं. १६ बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
अस्थायी प्रहरी पोष्टको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले संयुक्त रुपमा उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख वडले लामो समयको प्रयास र सबैको सहयोगबाट बेहडाबाबा क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना गर्न सकिएको बताए । यस क्षेत्रको शान्तिसुरक्षाका लागि प्रहरी पोष्ट आवश्यक रहेको र यसलाई ब्यवस्थित बनाउँदै लगिने उनले बताए । प्रहरी सबैको साथी भएको भन्दै नगरप्रमुख वडले साथीको ब्यवहार गर्दै यस क्षेत्रको शान्तिसुरक्षा, सामाजिक अभियान संचालन गर्न स्थानीयसंग अनुरोध गरे ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक दिलिप सिंह देउवाले समुदायसंग असल सम्बन्ध राखेर काम गर्न प्रहरीलाई निर्देशन दिए । उनले सबैभन्दा पहिले प्रहरीले आफ्नो आचरण ठिक राख्न सकेमा समाजमा गलत गर्नेका बारेमा कुरा उठाउन सकिने बताए । बेहडाबाबामा प्रहरी सहायक निरीक्षक दिलिप सिंह बडालको कमाण्डामा सात जना प्रहरी खटाइएको छ ।
२२ कात्तिक २०७७, शनिवार १७:२७ बजे प्रकाशित













