घर फर्किएको तीन दिनमै पुनः विस्थापित
टीकापुर, २८ साउन । बाढीका कारण धनजनको क्षति भएको कैलालीको भजनी क्षेत्रका बासिन्दा फेरि बाढीबाट विचल्लीमा परेका छन् । सोमबार रातिदेखि परेको वर्षापछि आएको बाढीले यहाँका बाढीपीडित परिवार फेरि विस्तापित हुन पुगेका हुन् ।
बाढीपीडितहरु फेरि ज्यान जोगाउन उच्च सडकमा गएर बसेका छन् । भजनी नगरपालिकाको वडा नम्बर८ का ११७ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । भजनी–८ खल्लाटोल सोनाहफाँटाका ४०, डाढाटिकका ५२ र कृष्णनगरका २५ परिवारले घर छाडेका छन् ।
उनीहरु यसअघिको बाढीबाट विस्थापित भएर घर फर्किएको तीन दिनमै पुनः विस्थापित भएका हुन् । विस्थापित परिवार उच्च सडक र पुलमाथि बसेका छन् । पथरैया, काढा र कान्द्रा नदीको पानी बस्ती पस्ने जोखिम बढेको छ । भत्केको घर मर्मतको तयारी थालेकै समयमा फेरि बाढी आएपछि पुनः विस्थापित हुनुपरेको बाढीपीडित धनकला विकले दुखेसो पोखिन् । उनले आफूसहित सोमबार बिहानै गाईभैँसी र बालबच्चासहित पुनः सडकमा फर्किएको बताइन् ।
भजनीमा यही साउन १४ गते आएको बाढीले एक हजार छ सय ७१ परिवार विस्थापित भएका थिए । उनीहरू पुनः विस्थापित हुनुपर्ने अवस्था आएको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताए । उनले विस्थापितहरुको राहतका लागि नगरपालिकाले कार्य गरिरहेको बताए ।
मौसम विज्ञान विभागले वर्षा अझै जारी रहने भएकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न सूचनासमेत गरेको छ । विभागले चिसापानी, टीकापुर, भजनी क्षेत्रका साना तथा ठूला नदीमा पानीको बहाव बढ्न सक्ने चेतावनीसहितको सूचना दिएको छ ।
कर्णाली नदीमा पानीको सतह बढेपछि कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको हो । वर्षा निरन्तर भएपछि तटीय क्षेत्रका नागरिकमा त्रास शुरु भएको हो । पहाडतिर भारी वर्षा भएको र नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।
नदीमा पानीको बहाव बढेपछि नेपाल रेडक्रस सोसाइटी टीकापुर, भजनी नगरपालिकाले नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।
२८ साउन २०७७, बुधवार ०५:०६ बजे प्रकाशित































