डोटीमा बस दुर्घटना: तीनको मृत्यु, ३२ घाइते
डोटी, साउन २८ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ३२ जना घाइते भएका छन् ।
कैलालीको त्रिनगर नाकाबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए।
बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
२८ साउन २०७७, बुधवार ०३:३६ बजे प्रकाशित































