कमेडी च्याम्पियन सिजन–२ : कहिलेदेखि सुरु हुँदैछ अडिसन ?
काठमाडौं, साउन १९ । कमेडी च्याम्पियन सिजन–२ को अडिसन यही भदौ १५ गतेबाट सुरु हुने भएको छ । सिजन-२ को अडिसनको दोस्रो प्रोमो सार्वजनिक गर्दै आयोजकले अडिसन मिति घोषणा गरेको हो ।
पहिलो प्रोमो सार्वजनिक भएको केही दिनमा आयोजकले दोस्रो प्रोमो सार्वजनिक गरेको हो । पहिलो प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरेको आयोजकले दोस्रो प्रोमोमा सिजन १ का प्रतियोगीको कमेडीको पञ्च लाइनको किल्प्स काटेर राखेको छ ।
प्रोमोमा अडिसन मिति सार्वजनिक गरे पनि अडिसन कसरी दिनबारे विस्तृत जानकारी भने दिइएको छैन । निर्देशक विशाल भण्डारीले अन्य प्रोमामा थप जानकारी दिँदै जाने बताए । डिजिटल अडिसन लिइने छ । तर त्यसका सर्तहरु पछि सार्वजनिक गरिने उनले बताए ।
निर्णायक सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुने छन् ।
नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन–१ मा हिमेश पन्त विजयी भएका थिए भने क्रमशः सुमन कोइराला र खड्गबहादुर पुन दोस्रो र तेस्रो भएका थिए ।
१९ साउन २०७७, सोमवार ०२:२० बजे प्रकाशित































