साढे पाँच लाख घुससहित डिएफओ पक्राउ
काठमाडौं, साउन १० । डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साह साढे पाँच लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले उनलाई पाँच लाख ५३ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको जनाएको छ । आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई कोशी गाउँपालिका– ८ सुनसरीबाट पक्राउ गरेको हो ।
घुसबाट उठाएको रकम लिएर रौतहटतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले बा२झ ४१० नम्बरको सरकारी गाडीमा लुकाइ राखेको अवस्थामा उक्त रकमसहित साहलाई पक्राउ गरेको हो । आयोगको टोलीले डिभिजन प्रमुख साह र उनको श्रीमती किरण साहको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो ।
१० साउन २०७७, शनिवार ०२:०७ बजे प्रकाशित































