धनगढी उपमहानगरपालिकाका शाखा प्रमुखको कुर्सीमा ‘दिसा’ भेटिएपछि…
धनगढी, साउन ९ । धनगढी उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीको कुर्सीमा दिसा राखेको भेटिएको छ ।
शाखा प्रमुख सत्यराज जोशीले कुर्सीमा राखेको दिसा आफ्नो शरीरमा लागेर थाहा पाएपछि उनको कुर्सीमा दिसा राखेको सार्वजनिक भएको हो । शाखा प्रमुख जोशीको कुर्सीमा कपडामा बेरेर राखेको अवस्थामा दिसा भेटिएपछि उप–महानगरपालिकामा हंगामा मच्चिएको छ ।
घटना सार्वजनिक भएपछि धनगढी उपमहानगरपालिकामा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । उप–महानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र कार्कीको संयोजकत्वमा शुक्रबार उप–महानगरपालिकाले योजना शाखा प्रमुख जोशीको कुर्सीमा दिसा भेटिएको विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको हो । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले कुर्सीमा दिसा भेटिएको सन्दर्भमा अध्ययन गर्न तीन सदस्यीय कमिटी गठन गरिएको बताए । यसअघि साउन ७ गते बसेको धनगढी उप–महानगरपालिकाका शाखा प्रमुखहरुको बैठकमा कर्मचारीलाई पुरस्कृत गरिएको विषयमा प्रश्न उठाएका थिए ।
उनले कर्मचारीको आवास खर्चलगायतका बारेमा पनि प्रश्न उठाएपछि केही कर्मचारी रुष्ट बनेको बताइएको छ । त्यसको भोलिपल्ट नै उनको कुर्सीमा दिसा भेटिएको हो ।
९ साउन २०७७, शुक्रवार १२:५८ बजे प्रकाशित































