धान दिवसको अवसरमा मुख्यमन्त्री भट्टद्धारा शुभकामना
धनगढी, असार १५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले असार १५ अर्थात धान दिवसको अवसरमा आज शुभकामना सन्देश दिएका छन् ।
शुभकामना सन्देश सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले धान हाम्रो मुख्य उत्पादनका रुपमा रहेको भन्दै बाली उत्पादनका लागि किसानलाई प्रोत्साहन गरिने बताएका छन् । उनले किसानको प्रत्साहनस्वरुप सरकारी स्तरवाट मनाइने रोपाइँ महोत्सव कोरोना भाइरस महामारीका कारण धुमधामले मनाउन नसकिए पनि प्रदेश सरकार सधैव किसान दाजुभाई तथा मजदूरकै साथमा रहेको बताए।
कोभिड–१९ ले आक्रान्त विश्वको अर्थतन्त्र र जनताको जिविकामा ठूलो असर पुर्याएको भएपनि कृषिवाट यी असरहरु कम गर्न सम्भव हुने स्पष्ट रहेकाले प्रदेश सरकारले कृषि क्षेत्रको विकास र बृद्धिलाई जोड दिएको उल्लेख गरेका छन् ।
भोकमरीको सामना गर्दै आएको सुदूरपश्चिममा जनताको राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार खाध्यान्नमा आत्मनिर्भरता ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र मेशिनीकरण गर्न ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम’, ‘नमुना कृषिगाउँ आफै बनाउ’ जस्ता बहुआयामिक कार्यक्रमलाई सफल पार्दै हामीले प्रदेशमा कृषि क्षेत्रमा एउटा क्रान्ति ल्याउनुछ,’ शुभकामना सन्देशमा भनिएको छ । साथै मुख्यमन्त्री भट्टले त्यस दिशामा अझ संवेदनशीलताका साथ सोचविचार गरी अघि बढ्न सबैमा आग्रहसमेत गरेका छन् ।
१५ असार २०७७, सोमवार ०२:३१ बजे प्रकाशित































