घर गएको एकसातापछि कोरोना देखियो
धनगढी,असार १३ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितलाई रिपोर्ट नआउँदै घर पठाइएपछि गाउँमा त्रास छाएको छ । आर डि टि पोजेटिभपछि घर पठाएका कयौँ नागरिकहरुमा पिसिआरपनि पोजेटिभ देखिएपछि गाउँमा त्रास बढेको हो । बिगतमा कोरोना संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गरी कोरोना नेगेटिभ नआउँदासम्म घर नपठाइएपनि पछिल्लो समय रिपोर्ट नआउँदै घर पठाएका ब्यक्तीहरुमा कोरोना देखिएपछि गाउँमा संक्रमणको त्रास बढेको हो ।
कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ का ५० जनालाई गत जेठ ३० गते पिसिआर रिपोर्ट नआउँदै घर पठाइएको थियो । आरडिटि पोजेटिभ आएका उनिहरुको जेठ १८ गते स्वाव संकलन गरिएको थियो । धेरै दिनसम्म रिपोर्ट नआएपछि उनिहरुलाई ३० गते घर पठाइएको थियो । असार ४ गते मात्रै उनिहरुमध्ये १८ जनाको पिसिआर रिपोर्टपनि पोजेटिभ आयो । गाउँमा रोपाइँ गर्न देखी आफन्तसंग निकै घुलमिल भइसकेका उनिहरुलाई ४ गते स्थानिय जनप्रतिनिधीले होम आइसोलेशनमा बस्न निर्देशन दिएका थिए । ४ गतेपछि होम आइशोलेसनमा बसेकाहरु केही दिनदेखी घर परिवार संगै बस्न थालेका छन् । पिसिआर रिपोर्ट नआउँदै घर पठाएका उनिहरु नतिजा नआउँदासम्म सबैसित घुलमिल भएपनि रिपोर्ट पोजेटिभपछि होम आइसोलेशनमै बसेको बताउँछन् ।
भारतबाट फर्केर स्थानिय बिद्यालयको क्वारेन्टाइनमा बसेका गौरिगंगा नगरपालिका १ का चन्द्र बिकपनि आरडिटि पोजेटिभ आएको थियो ।
आर डिटि पोजेटिभपछि क्वारेन्टाइनमै बसेका बिक जेठ ३० गते घर फर्के । घर फर्केपछि उनि घर परिवारसंगै बस्ने, खाना खाने गर्न थाले । तर असार ४ गते उनको पिसिआर रिपोर्ट आयो । र स्थानिय जनप्रतिनिधी र प्रहरी घरमै आएर उनलाई होम आइसोलेशनमा बस्न निर्देशन दिए । घर छेउमै रहेको छाप्रोमा उनि र उनिसंगै आएका उनका भाइपनि होम आइसोलेशनमै बसे ।
संक्रमित भएका उनिहरुको घर वरीपरि रातो रिबन लगाएर स्थानिय जनप्रतिनिधीले सिल गरे । असार १२ गते उनिहरुलाई अब कोरोना ठिक भइसकेको भन्दै स्थानिय जनप्रतिनिधीले सबैसंग बस्न सकिने सुझाव दिए । चन्द्र बिकका अनुसार वडा अध्यक्ष र प्रहरी घरमै पुगेर थर्मल गनले ज्वरो जाँच गरी अब कोरोना संक्रमण निको भइसकेको भन्दै आफुलाई घरमा बस्न सुझाव दिए । १२ गतेदेखी घर परिवार संगै बसिरहेको छु ।
घर परिवार संगै बसिरहेपनि कोरोना मुक्त भइसकेको छु भन्ने आफुसित प्रमाण नभएकाले मनमा धेरै त्रास छ । उनले भने ‘नत क्वारेन्टाइनमै बसेका बेला समयमै रिपोर्ट आयो नत संक्रमण पुस्टी भइसकेपछि अस्पतालनै लगियो अहिले झन चेकजाँचनै नगरी कोरोना ठिक भइसकेको भनेका छन्, कसरी पत्याउने’ । समाजले समेत आफुहरुलाई नपत्याउने हुँदा पिसिआर जाँच गरिदिन उनले आग्रह गरेका छन् ।
चक्र बिक संगै क्वारेन्टाइनबाट घर गएका वडा नम्बर १ कै कृष्ण रम्तेलकोपनि असार ४ गते पिसिआर रिपोर्ट पोजेटिभ देखियो । क्वारेन्टाइनबाट घर फर्केको एक सातापछि उनको रिपोर्ट आएको थियो । रिपोर्ट आउनुभन्दा अघी उनलेपनि आफन्तको घर देखी चौमाला बजार पुगेर कपाल समेत काट्न भ्याए । जब रिपोर्ट पोजेटिभ आयो बल्ल उनलाइपनि होम आइसोलेशनमै बस्न निर्देशन दिइयो । होम आइसोलेशनमै बस्न भनेपनि घर एउटै थियो छुट्टै कोठामा त बसेको छु उनले भने ‘पानी एउटै, ट्वाइलेट एउटै हुँदा घर परिवारलाई नसर्ने भन्ने त हुँदैन ।’ परिवार तथा आफन्तसंग समेत घुलमिल भएपनि कन्ट्याक्ट टे«ेसिङका लागी समेत पहल नभएको उनले बताए । अन्य संक्रमित जस्तै आफुलाइ समेत १४ दिन पुगिसकेकाले घरको काम संगै परिवारसंगै बस्न थालेको उनले बताए । तर आफुसंग कोरोना मुक्त भएको वा नभएको कुनै प्रमाण नहुँदा समाजले हेर्ने नजर उस्तै रहेको उनले बताए ।
परिवारमा उस्तै त्रास
करिब १४ दिनको होम आइसोलेशनपछि घर परिवारसंगै बस्न थालेपनि घर परिवारलाइपनि कोरोना संक्रमणको त्रासनै छ । घर पठाएको ६ दिनपछि कोरोना संक्रमित भएका उनिहरुका परिवारको कन्ट्याक्ट टे«ेसिङ समेत हुन सकेको छैन । कोरोना संक्रमितको पुनः जाँच नगरी घुलमिल हुँदा परिवारमापनि त्रास बढेको छ । चन्द्र बिककी आमा पार्वति बिक छोरा कोरोनाबाट मुक्त भइसकेको भनेर जनप्रतिनिधीले भनेको बताउँछिन् । जनप्रतिनिधी तथा प्रहरीलेनै भनेपछि १२ गतेबाट घरमै राखेकी छु उनले भनिन ‘डर त छ तर के गर्नु हाम्रो सरकार स्थानिय सरकारनै हो उनले घरमै राख्न सुझाव दिएपछि घरमै राखेकी छु ।
छिमेकीपनि त्रासमा
घर परिवार संगै टोलमै कोरोनाको त्रास बढेको छ । कोरोना संक्रमणपछि उनिहरुले बिभिन्न ठाउँ गइसकेपनि कन्ट्याक्ट टे«ेसिङका लागी कुनै निकायको पहल हुन नसकेको स्थानियले बताएका छन् । कोरोना रिपोर्ट नआउँदै घर पठाएको स्थानिय तहले झन घर परिवार संग घुलमिल हुनुभन्दा पहिले कोरोना जाँच नगर्दा त्रास छाएको गौरिगंगा नगरपालिका १ का जगत बोहराले बताए ।
नेपाली कागं्रेसको ध्यानाकर्षण
कोरोना रिपोर्ट नआउँदै घर पठाइएपछि प्रदेशको नेपाली कागं्रेस संसदिय दलले चासो देखाएको छ । संसदिय दलका नेता डक्टर रण बहादूर रावल सहितको टोलिले सो क्षेत्रको अनुगमन गरेको छ । सरकारले कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आइसोलेशनमै राखेर उपचार गर्नुपर्ने ठाउँमा उल्टै रिपोर्ट नआउँदै घर पठाएर गाउँमा संक्रमण बढाउने काम गरेको संसदिय दलका नेता रावलले बताए । यस्ता कार्य रोकी पिसिआरपछि मात्रै घर पठाउनुपर्ने र कन्ट्याक्ट टे«ेसिङ गरी सम्पर्कमा आएका सबैको परिक्षण हुनुपर्ने उनको भनाई छ ।
आन्दोलन गरेर आफै घर गए स्थानिय तह
बिद्यालयको क्वारेन्टाइनमा बसेका ५० जना आफै घर जान पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रेपनि सकेसम्म रोक्ने प्रयास गरेको स्थानिय सरकारको दावी छ । गत जेठ ३० गते आफै घर गएका स्थानियलाई पिसिआर रिपोर्ट आएपछि होम आइसोलेशनमै बस्न आग्रह गरेको गौरिगंगा नगरपालिका १ का अध्यक्ष जगतराम चौधरीले बताए । हामीले क्वारेन्टाइनमै बस्न आग्रह गरेका थियौँ वडा अध्यक्ष चौधरीले भने ‘ पिसिआर रिपोर्ट आएपछि मात्रै पठाउने भन्ने हामीले सोचेका थियौँ तर उनिहरु घर जानुपर्ने भन्दै आन्दोलन गरी आफै घर गए ।’ घर गइसकेपछि रिपोर्ट पोजेटिभ आएसंगै हामीले होम आइसोलेशनमै बस्न भनेका हौँ उनले भने ‘होम आइसोलेशनमा १४ दिन पुगेसंगै नसर्ने भन्ने स्वास्थ्य निर्देशनालयको पत्र अनुसार हामीले अली घुलमिल हुन सकिन्छ भनेर भनेका हौँ ।’
१४ दिनपछि होम आइशोलेसनमा बस्नुपर्ने नियम आफुलाई उचित नलागेपनि बाध्य भएर घर पठाउनुपरेको चौधरीले बताए । सबैलाई आइसोलेशनमै राखेर उपचार गर्न नभ्याएपनि क्वारेन्टाइनमैपनि राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो उनले भने ‘सरकार नियमनै त्यस्तो बनाउँछ हामी स्थानिय जनप्रतिनिधीले के गर्ने ।’
अब संक्रमितको सम्पर्कमा गएकाहरुको कन्ट्याक्ट टे«ेसिङ गर्ने भनेका छौँ तर प्रदेशको स्वास्थ्य निर्देशनालयले स्वाव राख्ने ठाउँ नभएको भन्दै स्वाव संकलननै रोक्न भनेको छ । उनले भने ‘अब कसरी कन्ट्याक्ट टे«ेसिङ गर्ने भन्ने चिन्तामा छौँ ।’ यस्तो जटिल बिषयमा स्वास्थ्य निर्देशनालयले चासो दिनुपर्छ ।
एकातिर रिपोर्ट नआउँदै घर गएकाहरुका कारण टोलमा संक्रमणको त्रास फैलिरहेको छ भने, आर्कोतिर फेरी पिसिआर नगरीकनै घर परिवारसंग घुलमिल हुँदा संक्रमणको जोखिम बढाएको छ । त्यसैले संक्रमितको सम्पर्कमा आएकाहरु संगै परिवारको कन्ट्याक्ट टे«ेसिङ गरी होम आइसोलेशन बस्ने नियम बन्द गर्न स्थानियको माग छ ।
१३ असार २०७७, शनिवार १३:२० बजे प्रकाशित































