टिप्पर धुने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु, एक घाइते
नवलपरासी, असार ९
नवलपुरमा करेन्ट लागेर आज दुई जनाको ज्यान गएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा करेन्ट लागेर स्याङ्जा चापाकोट नगरपालिका ६ का ३२ वर्षीय चालक भरत थापा र नवलपुरको विनयी त्रिवेणी ५ धुरकोट देवरालीका १७ वर्षीय सहचालक आशिष विकको मृत्यु भएको हो ।
गाउँपालिकाको वडा नम्बर ३ को सर्दीमा रहेको खोरण्डे खोलामा टिप्पर धुने क्रममा करेन्ट प्रवाह हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी मोहनबहादुर खाँणले बताए ।
उनकाअनुसार लु २ ख ४७४४ नम्बरको टिप्पर धुने क्रममा टिप्परको पछाडिको भाग (ढाला) माथि उठाउँदा बिजुलीको तारमा छोइएपछि करेन्ट प्रवाह भएको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमको लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
यस्तै त्यही खोलामा नुहाइरहेका कास्की उपमहानरपालिका १७ का ४५ वर्षीय कृष्णबहादुर पाण्डे लु २ ख ४४४८ नम्बरका टिप्पर चालक घाइते भएका छन् । नुहाइरहेका पाण्डे खोलामा प्रवाह भएको करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
९ असार २०७७, मंगलवार १२:२२ बजे प्रकाशित






























