punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुर्नया गाउँपालिकामा महिनावारीजन्य समस्या धेरै

Chaupati
safha napa

बैतडी,असार ४ । सुर्नया गाउँपालिकाका सबै जसो वडामा महिलाहरूमा महिनावारीसँग जोडिएका समस्या अत्याधिक देखिएको छ ।सुर्नया गाउँपालिकाको सहयोगमा हेल्थ टुडे मिडियाले सञ्चालन गरेका तालिमका क्रममा सहभागीहरूमाझ गरिएको सर्वेक्षणले यो अवस्था देखाएको हो ।

यौन, प्रजनन स्वास्थ्य, लैङ्गिक सवाल, महिनावारी तथा सेनेटरी प्याड निर्माणसम्बन्धी सबै वडामा सञ्चालन भएको तालिमका क्रममा अधिकांश सहभागीले ग्रामीण क्षेत्रमा महिलाहरूले भोग्नु परेका स्वास्थ्य समस्याबारे बताएका थिए ।

हेल्थ टुडे मिडियाका अध्यक्ष तथा पत्रकार पदमराज जोशीले दिएको जानकारी अनुसार, सहभागीहरूले आफ्नो गाउँटोलमा महिनावारीमा हुने दुखाईको समस्या सबैभन्दा धेरै रहेको बताएका छन् । महिलाहरुमा तल्लो पेट दुख्ने समस्या धेरै रहेको उनको भनाई थियो । यसैगरी गाउँपालिकाका सबैजसो वडामा महिलाहरूमा हात खुटटा तथा जोर्नी दुख्ने समस्यासमेत धेरै रहेको पाइएको छ ।

तालिमका क्रममा सहभागीहरुलाई आफ्नो गाउँ, टोल, वडामा महिलाहरूमा देखिने सबैभन्दा जटिल ५ वटा स्वास्थ्य समस्या के के हुन् भन्ने प्रश्न गरिएको थियो । अधिकांश सहभागीहरुले महिनावारीसम्बन्धी समस्या र जोर्नी दुख्ने, बाउँडिने समस्या रहेको बताएका थिए । यसबाहेक पाठेघर खस्ने, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता समस्यासमेत देखिने उनीहरूले बताएको जोशीले बताए ।

किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी अभिवृद्धि गर्ने तथा उनीहरूलाई प्रशिक्षकका रूपमा विकास गर्न आयोजना गरिएको चार दिने तालिम गाउँपालिकाका सबै वडाका किशोरी समेटेर सञ्चालन भइरहेको छ ।

हेल्थ टुडे मिडियाले दिएको जानकारीअनुसार, गाउँपालिकाका वडा नं. ७ र ८ मा तालिम सम्पन्न भइसकेको छ भने वडा नं. ४ देखि ६ सम्म रौलेश्वर र १ देखि ३ वडाका किशोरीहरुरूलाई सतबाँझमा तालिम सञ्चालन भइरहेको छ । तालिममा वडाका स्वास्थ्य स्वयंसेविकाहरू समेत सहभागी छन् ।

दुई चरणमा सहभागी तालिममा पहिलो चरणमा महिला हिंसा, यौन, प्रजनन स्वास्थ्य, महिनावारी, गर्भपतन जस्ता विषयमा तालिम दिइएको छ भने दोश्रो चरणमा किशोरीहरूलाई सुरक्षित महिनावारीका लागि सेनेटरी प्याड बनाउन सिकाइएको छ ।

रौलेश्वरमा आयोजित तालिमलाई गाउँपालिका अध्यक्ष बीर बहादुर विष्ट तथा उपाध्यक्ष लिला कुमारी विष्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटनपश्चात उपाध्यक्ष विष्टले महिला सवाल र नेतृत्वका विषयमा प्रशिक्षण दिएकी थिइन् । सतबाझमा आयोजित तालिमलाई भने वडा नं. २ का अध्यक्ष हर्क बहादुर पाण्डेले उदघाटन गरेका थिए ।

तालिमपश्चात सबै वडामा किशोरी समूह गठन गरिने तथा उनीहरूलाई हरेक घर–घरसम्म प्रजनन स्वास्थ्यका बारेमा जनचेतना फैलाउने र प्याड बनाउन सिकाउने गरी भविष्यमा परिचालिन गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ । कोरोना महामारी फैलिएको बेला सहभागीहरूको ज्वरो जाँच गरि सामाजिक दूरी कायम गरेर सुरक्षित उपाय अपनाई तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

तालिममा सुदूरपश्चिम क्षेत्रमा महिला स्वास्थ्यका क्षेत्रमा विगत ७ वर्षदेखि काम गर्दै आएका चिकित्सक डा. लोकेन्द्र थापा, स्वास्थ्य क्षेत्रमा क्षमता अभिवृद्धि, पैरवी तथा सामाजिक मुद्दामा प्रशिक्षण गर्दै आएका सञ्चारकर्मी गोकर्ण भट्ट, हेल्थ टुडे मिडियाका अध्यक्ष पदमराज जोशी, किशोरी क्षमता अभिवृद्दि सहजकर्ता तथा यो क्षेत्रमा तालिम दिँदै आएका डम्मरी भट्ट, कुन्ति भट्टलगायत जनस्वास्थ्यविद एवं अन्य प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन् ।


४ असार २०७७, बिहीवार ०४:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु