आगामी वजेटमा शिक्षाः सबै नागरिकलाई साक्षर बनाउने अभियानलाई प्राथमिकता
काठमाडौं ,बैशाख ३० । सरकारले सबै नागरिकलाई साक्षर बनाउने अभियानलाई प्राथमिकता दिने गरी आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट ल्याउने भएको छ ।
आर्थिक वर्ष २०७७–७८ को बजेटको सिद्धान्त तथा प्राथमिकता संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सबै नागरिकलाई साक्षर बनाउने अभियानलाई प्राथमिकता दिइने सरकारको योजना रहेको बताएका हुन् ।
गुणस्तरीय र जीवनोपयोगी शिक्षाको अवसर सुनिश्चित गरी उत्पादक नागरिक तयार गर्ने सरकारको योजना देखिन्छ ।
यस्तै, आगामी वजेटमा आधारभूत तथा माध्यमिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै माध्यमिक तहमा प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिइने अर्थमन्त्री खतिवडाले बताए । यस्तै उच्च शिक्षालाई गुणस्तर बनाउने सरकारको योजना रहेकोसमेत उनले सुनाए ।
बालबालिकाको संविधान प्रदत्त अधिकार सुनिश्चित गरिने तथा समाजका असक्त, अपांग, टुहुरा, असहाय बालबालिकालाई सरकारले अभिभावकत्व लिएर संरक्षण गर्ने योजना पनि अर्थमन्त्री खतिवडाले सुनाए ।
वर्तमान अवस्थामा शिक्षा र शिक्षकलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता देखिएपनि वजेटमा त्यसले प्राथमिकता नपाएको देखिन्छ । सरकार उही पुरानो साक्षरता अभियानलाई नै अगाडि बढाउने योजनामा देखिन्छ ।
३० वैशाख २०७७, मंगलवार ०६:४५ बजे प्रकाशित













