सशस्त्र प्रहरी लिएर बुधबार सेनाको हेलिकप्टर दार्चुलाको छाङरु जाँदै

बुधबार नेपाली सेनाको हेलिकप्टरले सशस्त्र प्रहरीको फौज लिएर छाङ‌रु जाने भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बुधबार छाङ्‌रुमा हेलिकप्टर पठाउनका लागि गृह मन्त्रालयबाट पत्र आएको बताए ।

छाङ‌रुमा सशस्त्र प्रहरी इन्सपेक्टरको कमान्डमा ३५ जनाको टोली पठाउने तयारी छ । यसका लागि मेडिकल उपकरण,हातहतियार व्यवस्थापन, मौसमी प्रतिकूलता विरुद्ध जुध्‍ने अन्य उपकरण लगायत बन्दबस्तीका अन्य सामग्रीहरु व्यवस्थापन गर्न सशस्त्र प्रहरीले कार्ययोजना बनाउन थालेको छ ।

छाङ‌रु समुद्री सतहबाट ३ हजार ६ सय मिटर उचाइमा पर्छ । कालापानी ४ हजार २ सय मिटर उचाइ र त्यसभन्दा माथि लिपुलेक,लिम्पियाधुरा करिब ५ हजार मिटरको उचाइमा पर्छ ।

यतिबेला सशस्त्र प्रहरी मुख्यालयले छाङ‌रु जाने जनशक्तिको छनोट गरिरहेको छ । यस्तै,सशस्त्रले छाङ्‍रुमा मा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) खटाउन चाहिने मेडिकल उपकरणको विवरण तयार पार्न सशस्त्र प्रहरी अस्पताललाई जिम्मा दिइसकेको छ ।

भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक–पटक उठे पनि भारतीय सीमाको सबैभन्दा नजिकको बिन्दुमा नेपाली सुरक्षाकर्मी तैनाथ गर्न बल्ल जग्गाको व्यवस्था भएको छ ।

सीमा सुरक्षार्थ दार्चुलाको व्यास गाँउपालिका–१, छाङरुमा सशस्त्र प्रहरी बल (एपीएफ) को फौज राख्न सरकारले केही समयअघि २५ रोपनी जग्गा उपलब्ध गराएको थियो । कान्तिपुरबाट


२९ वैशाख २०७७, सोमवार १०:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु