प्रिन्सिपल भुषालको सुनियोजित हत्या भएको भन्दै छानबिनको माग
काठमाडौँ ,बैशाख १७ । कैलालीको मसुरियास्थित बिहानी क्षितिज वोर्डिङ स्कुलले विद्यालयका सञ्चालक प्रिन्सिपल कृष्ण भुषालको हत्या घटनाको सत्य तथ्य छानबिनको माग गरेको छ ।
एन प्वाब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका भुषालको केही दिनअघि पहलमानपुर बजार भन्दा केही पश्चिमतर्फ पूर्वपश्चिम राजमार्गमा मध्यराति शव फेला परेको थियो ।
शव भेटिएको स्थानभन्दा निकै पर उनको चप्पल तथा मास्क लगायतका सामग्री भेटिनु र मृत शरीरमा धुलोमाटो तथा चोटपटक लागेको देखिनुले उनको हत्या भएको दाबी विद्यालयले गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदप्रशाद जोशीले आज एक विज्ञप्ति जारी गर्दै यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।
मृत शरीर र साइकल राजमार्गको विपरित दिशामा भेटिनुले पनि घटना दुर्घटना नभई हत्या नै भएको कुरा पुष्टि हुने विद्यालयले जनाएको छ।
‘शव भेटिएको स्थानभन्दा दुईकिलोमिटर टाढा चप्पल तथा मास्क भेटिनु र चप्पल भेटिएको स्थानभन्दा केही पर रुखको फेदमा रगत लतपतिएको भेटिनुले यो घटना दुर्घटना नभई सुनियोजित हत्या भएको प्रष्ट देखिएको छ’, अध्यक्ष जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘यो घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीका लागि जोडदार माग गर्दैछौँ’, विज्ञप्तिमा भनिएको छ ।
१७ वैशाख २०७७, बुधवार ०८:११ बजे प्रकाशित































