मेयर कप फुटबल प्रतियोगिता : आयोजक पुर्नवास निलो र धनगढी उप महानगरपालिका सेमिफाईनलमा प्रवेश

पुनर्वास : कञ्चनपुरको पुनर्वासमा भईरहेको प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार दुई खेल भएका छन् ।

पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ को मंगलवारका खेलमा विजयी हुँदै आयोजक पुर्नवास नगरपालिकाको निलो टीम र धनगढी उपमहानगरपालिका सेमिफाईनलमा पुगेका छन् ।

पुर्नवास नगरपालिका वडा नम्बर ३ स्थित ६५ विगाहको खेल मैदानमा मंगलवार भएको पहिलो खेलमा पुर्नवास नगरपालिका निलोले भिमदत्त नगरपालिकालाई २–० ले हरायो ।

पहिलो हाफ गोल रहित वरावरी भएपनि आयोजक टीमले दोस्रो हाफमा दुई गोल गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पुर्नवासका लागि सुदिप घर्तीले दोस्रो हाफको २१ औं मिनेट र सुदिप तामाङले दोस्रो हाफको २९ औं मिनेटमा गोल गरे ।

खेलको म्यान अफ द म्याच पुर्नवास निलोका सुदिप तामाङ भए । उनले नगद दुई हजार प्राप्त गरे । उनी यसअघिको खेलमा पनि म्यान अफ द म्याच भएका थिए ।

मंगलवारको दोस्रो खेलमा आयोजक पुर्नवास नगरपालिका रातोलाई धनगढी उपमहानगरपालिकाले ३–२ ले किनारा लगायो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ८ औं मिनेटमा किरण वोहोराले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिए ।

त्यसको ६ मिनेटपछि धनगढीका कप्तान कुवेर सिंहको फ्रिकिक प्रहार गोलमा परिणत भएपछि धनगढी उपमहानगरपालिकाले अग्रता दोब्बर पार्यो । पहिलो हाफकै २५ औं मिनेटमा पुर्नवास रातोका लागि कप्तान फिलिप तामाङले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुराए ।

दोस्रो हाफको २१ औं मिनेटमा पुर्नवास रातोले पेनाल्टी एरियाभित्र ह्यान्ड गरेपछि धनगढीले पेनाल्टी पायो । त्यसलाई धनगढीका अमन चौधरीले गोलमा परिणत गरे ।

दोस्रो हाफको ३२ औं मिनेटमा पुर्नवास निलोका फिलिप तामाङले व्यक्तीगत दोस्रो गोल गरे । त्यसपछि कुनै पनि टीमबाट गोल हुन सकेन् । खेलमा पुर्नवास रातोका फिलिप तामाङ म्या अफ द म्याच भए । उनले नगद दुई हजार पाए । धनगढी उपमहानगरपालिकाले यसअघि क्वाटरफाईनलमा वाई पाएको थियो ।

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा वुधवार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा वेलौरी नगरपालिका र मधुवन नगरपालिका वर्दिया तथा दोस्रो खेलमा गोदावरी नगरपालिका र महाकाली नगरपालिका बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका मिडिया संयोजक भरत वोहोराले जानकारी दिनुभयो ।

प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका छन् । सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भईरहेको छ ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्वमा र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा सुरु भएको मेयर कप फुटबल नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगिताका संयोजक खडक विक्रम थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिनुभयो ।

त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेष्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।


२८ माघ २०७६, मंगलवार १२:२४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु