बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन
न्यूयोर्क, ९ असोजः
आगान्तुक पुस्तिकामा हस्ताक्षर
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसँग भेटवार्ता गर्नु अघि उहाँको कार्यकक्षमा राखिएको आगान्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै । प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा हाल न्युयोर्कमा हुनुहुन्छ । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
न्युयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले युद्धका लागि आवश्यक सामग्री विश्वका विभिन्न ठाउँमा सहज रूपमा पुग्ने तर किसानका लागि आवश्यक मल र सर्वसाधारणका लागि इन्धन उपलब्ध नहुने अवस्थाप्रति प्रश्न उठाएका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले विश्वव्यापी आपूर्ति प्रणालीको प्राथमिकतामाथि पुनर्विचार गर्नुपर्ने बताए।
प्रधानमन्त्री शाहले नेपालका किसानले समयमा मल नपाउने, सडक निर्माणका लागि बिटुमिन अभाव हुने र परिवारले खाना पकाउने इन्धनसमेत नपाउने अवस्था रहेको उल्लेख गरे।
उनले युद्धका लागि क्षेप्यास्त्र, राइफल र गोलीगठ्ठा समयमै सीमापार पुग्ने तर सामान्य नागरिकका आधारभूत आवश्यकताका वस्तु आपूर्ति हुन नसक्ने अवस्थालाई विरोधाभासका रूपमा प्रस्तुत गरे।
‘हामीले युद्धका लागि निर्दोष ढुवानी प्रणाली र खानाका लागि अस्तव्यस्त ढुवानी प्रणाली भएको विश्व बनाएका छौं,’ उनले भने।
प्रधानमन्त्री शाहले यस्तो समस्या नेपालमा मात्र नभएको भन्दै दक्षिण एसियाका विभिन्न मुलुकसमेत विश्वव्यापी आपूर्ति प्रणालीको अस्थिरताबाट प्रभावित भएको बताए।
उनले गरिब र कमजोर मुलुकका नागरिकको आधारभूत आवश्यकता सुनिश्चित गर्ने गरी विश्वव्यापी सहकार्य र आपूर्ति प्रणालीलाई पुनर्संरचना गर्नुपर्नेमा जोड दिए।
९ असोज २०८३, शुक्रवार ०७:४३ बजे प्रकाशित














