प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब मौज्दात, बाढीपीडितका लागि एक अर्ब निकासा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार नौ सय २६ रुपैयाँ मौज्दात रहेको छ।

कोषमा जम्मा भएको रकममध्ये नौवटा वाणिज्य बैंकका खातामा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, दुईवटा वाणिज्य बैंकका खातामा २५ करोड चार लाख ७१ हजार पाँच सय ४६ अमेरिकी डलर मौज्दात रहेको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।

भोटेकोशीमा आएको बाढीले रसुवालगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न आह्वान गरेको थियो।


८ असोज २०८३, बिहीवार १२:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु