punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुर निर्वाचन क्षेत्र–१मा हात्ती आतंक रोक्न सक्नेलाई मात्रै भोट

Chaupati
safha napa

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र–१ का मतदाताले जङ्गली जनावरका कारण घर, बालीनाली असुरक्षित रहेकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासको बस्ती उचित योजनासहित हात्तीबाट जोगाउन सक्ने उम्मेदवारलाई भोट दिने बताएका छन् ।

क्षेत्र नम्बर १ स्थित लालझाडी गाउँपालिका–६, ढक्का चानदेवका रुवससिङ नायकले १५ कट्ठा जमिनमा गहुँ लगाउनुभएको छ तर जङ्गली जनावर हात्तीले सबै गहुँ खाएर, कुल्चेर नष्ट गरिदिएको उहाँले दुखेसो पोख्नुभयो । जनावरबाट अन्नबाली जोगाउन रातभर जाग्राम बस्ने गरेको बताउनुहुँदै उहाँले हात्तीबाट भने बालीनाली जोगाउन नसकिने गुनासो गर्नुभयो । निर्वाचनमा उम्मेदवारहरू मत माग्नका लागि आउने गरेका बताउँदै उहाँले हात्तीबाट बस्ती जोगाउने उम्मेदवारलाई मात्रै मत खसाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अरू जनावरबाट बाली जोगाउन विभिन्न तरिका प्रयोग गर्दै आएका छौँ । हात्ती आएका बेला भने ज्यान जोगाउन भाग्नुपर्ने अवस्था छ ।” हात्तीबाट सुरक्षा प्रदान गर्न उचित नीति बनाउन सक्ने उम्मेदवारलाई आगामी निर्वाचनमा भोट दिइने उहाँ बताउनुहुन्छ ।

सोही ठाउँका ६८ वर्षीय वासुदेवी दमाईंले जनावरबाट गहुँबारी जोगाउन रातभर जाग्राम बस्नु परेको गुनासो गर्नुभयो । हात्तीले दुई पटक घर भत्काएको दुःखेसो पोख्दै उहाँले हात्तीबाट सुरक्षा प्रदान गर्न आगामी निर्वाचनमा उम्मेदवार बनेका नेतालाई आग्रह गर्नुभयो । विगतमा कैयौँ पटक मत खसालेको तर व्यवस्थापन नभएको बताउनुहुँदै उहाँले अबको चुनावमा भने केही गर्न सक्ने व्यक्तिलाई भोट दिने बताउनुभयो ।

१० देखि १५ दिनको अन्तरालमा आउने हात्तीका कारण बालीनाली जोगाउन मुस्किल भएको चानदेवका स्थानीय केशव दमाईंले बताउनुभयो । हात्तीले जङ्गली हात्तीले १० कट्ठा जमिनमा लगाएको गहुँबाली नष्ट गरिदिएको उहाँले दुःखेसो पोख्नुभयो । मजदुरी गरेर परिवार पाल्दै आउनुभएका उहाँ हात्तीले खेतीपाती नष्ट गरिदिएपछि खाद्यान्नसमेत किन्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ । लालझाडी गाउँपालिका–६, खरगढीयाका स्थानीय भागरती विकले एक बिघा जमिनमा झन्डै ३० हजार रुपियाँ खर्च गरेर लगाएको गहुँ जङ्गली जनावर हात्ती, चित्तल, बँदेलले सबै नष्ट गरिदिएको दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “तर बर्सौंदेखि जङ्गली जनावरले बालीनाली नष्ट गर्दै आएकाले आगामी निर्वाचनमा भने उचित व्यवस्था मिलाउन सक्नेलाई मत खसाल्छु ।”

जङ्गली हात्तीले दुई महिनाको अवधिमा यहाँको बेलडाँडी गाउँपालिकाका तीन दर्जनभन्दा बढी घरमा पूर्ण रूपले क्षति पुगेको छ । पुस पहिलो सातादेखि बस्ती प्रवेश गरेको जङ्गली हात्तीको आतङ्कले बेलडाँडीको झिलमिला, इमिलियालगायत क्षेत्रमा तीन दर्जनभन्दा बढी घरमा क्षति पुगेको स्थानीय बताउँछन् । बेलडाँडी गाउँपालिका–५, झिलमिलाका स्थानीय कमल गिरीले राति आउने हात्तीका कारण बालीनाली जोगाउन मुस्किल परेको दु:खेसो पोख्नुभयो ।

हात्तीले १० कट्ठामा लगाएको उखु पूर्ण रूपमा सखाप पारेको बेलडाँडीका स्थानीय शेरबहादुर थापाले दुःखेसो पोख्नुभयो । नेताहरूले झुटा वाचा गरेर विगतमा मत पाए पनि आगामी निर्वाचनमा भने उचित व्यवस्थापन गर्न सक्ने उम्मेदवारलाई मात्रै मत खसाल्ने उहाँले बताउनुभयो ।


१ फागुन २०८२, शुक्रवार १२:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु