punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या

Chaupati
safha napa

बैतडी। दोगडाकेदार गाउँपालिकाको वडा नम्बर २ बडिया र कणेलीगाउँमा खानेपानीको समस्या भएको छ।

गाउँपालिकाले ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरेपनि ती गाउँमा  खानेपानी समस्या जारी रहेको छ। तीगाउँका  तीन सय घरपरिवारले बाह्रै महिना खानेपानीको समस्या भोग्दै आएको स्थानीयवासी करनसिंह भाटले जानकारी दिए। तत्कालीन समयमा एसियाली विकास बैंक (एडिबी)का सहयोगमा बनेको खानेपानी योजना जीर्ण बनेपछि यहाँ बाह्रै महिना खानेपानीको समस्या हुने गरेको उनले बताए। उनले भने, ‘खानेपानीका लागि निकै समस्या छ। एडिबीले बनाइदिएको खानेपानी योजना जीर्ण भयो, परम्परागत पानीका कुवा सुकेका छन्। यहाँ बाह्रै महिना खानेपानीको हाहाकार हुने गरेको छ।’

एडिबीको सहयोगमा २०५२ सालमा यहाँ खानेपानी योजना निर्माण भए पनि हाल भने जीर्ण भएको उनले बताए। दोगडाकेदार गाउँपालिकाले अन्य बस्तीमा ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरे पनि यहाँको समस्या समाधानका लागि भने कुनै चासो नदिएको स्थानीय बासिन्दाको आरोप छ। गाउँमा भएका पानीका मुहान सुकेपछि बडियावासी एक गाग्री पानीका लागि दिनभरि भौँतारिने गरेका छन्।

खानेपानीको बाह्रै महिना समस्या हुने गरेको अर्का स्थानीयवासी लोकेन्द्र विष्टले बताए। उनले भने, ‘बडिया र कणेलीगाउँवासीका दुःख भनेको खानेपानी हो। यो समस्या समाधानका लागि कुनै ठाउँबाट पहल हुनसकेको छैन।” खानेपानीका लागि घण्टौँ लगाएर ल्याउनुपरेको स्थानीयवासी रघुवीर भाटले बताए। उनले भने, ‘खानेपानीका लागि घण्टौँ लाइन बसेर भर्नुपर्छ। पानी भर्नमै रातदिन बित्ने गर्छ।’

बडियामा खानेपानी पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षअघि लिफ्ट खानेपानी योजना सुरु गरे पनि अधुरै रहेको छ। उक्त योजनाले बजेट अभावका कारण अहिलेसम्म पूर्णता नपाएको हो। बजेट अभावका कारण बडियामा पाँच वर्षदेखि लिफ्ट खानेपानी अलपत्र पर्दा यहाँका नागरिकलाई समस्या भएको दोगडाकेदार–२ का वडाध्यक्ष विष्णुदत्त भट्टले बताए।

उनले भने, ‘प्रदेश सरकारले निर्माण गरिरहेको लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि यहाँका नागरिकलाई राहत हुने थियो। हाल भने खानेपानीको निकै समस्या छ।’ बजेट बढेर आउनुको सट्टा घटेर आउँदा लिफ्ट खानेपानी निर्माणको काम वर्षौँसम्म सम्पन्न हुन नसकेको वडाध्यक्ष भट्टको भनाइ छ। उनले भने, ‘योजना निर्माणका काम क्रमागत रूपमा चलिरहेको छ। आगामी वर्ष सम्पन्न हुने आस छ।’

बडियामा खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले पाँच वर्षअघि तीन करोड ९६ लाखमा लिफ्ट खानेपानी योजना निर्माण सुरु गरेको डिभिजन खानेपानी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख गोविन्दप्रसाद देवकोटाले उक्त योजनाको काम अन्तिम चरणमा पुगेको बताए। उनले भने, ‘उक्त योजना चारवटा ‘स्किम’मा काम भइरहेको छ। यसमध्ये तीनवटा ‘स्किम’ लिफ्ट प्रविधिको भएकाले मोटर चलाउन विद्युत्का पोल गाडेर तार तान्ने काम पूरा भएको छ। निर्माण सम्पन्नका लागि केही समय अझै लाग्छ।रासस


६ जेठ २०८२, मंगलवार ११:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु