punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सांसदहरूको चिन्ता– शिक्षकपछि अब निजामती कर्मचारीहरू पनि सडकमा नआऊन्

Chaupati
safha napa

काठमाडौं। देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंको सडक ठप्प पारेर आन्दोलनमा उत्रिएको १७ दिन भयो । संघीय शिक्षा ऐन बनाउनुपर्ने मुख्य माग उनीहरूको छ । आन्दोलनले राज्यलाई सतर्क बनाएको छ नै, कानुन निर्माण गर्ने संसद र सांसदहरूलाई पनि सतर्क बनाएको छ । शुक्रबार प्रतिनिधिसभाको राज्यव्यवस्था समितिको बैठक सुरु हुनुअघि कर्मचारी संगठनले संयुक्त रूपमा समिति सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाए ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन एक ठाउँमा छन् । उनीहरूले निजामती कर्मचारी भन्नाले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई सम्झनुपर्ने भन्ने विषय परिभाषामा समेट्नुपर्ने माग राखेका छन् ।

साथै, ट्रेड युनियनको व्यवस्था, कुनै पनि पदमा ५ वर्ष सेवा अवधि भएको कर्मचारीलाई एक तह वृद्धि, अस्थायी करारमा काम गरेका कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सीमित प्रतियोगिताबाट स्थायी गर्नेलगायतका ११ बुँदे माग उनीहरूले राखेका छन् ।

समितिमा छलफलको विषय थियो– संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल । छलफलमा सांसदहरूले शिक्षकजस्तै निजामती कर्मचारी पनि आन्दोलनमा आउने वातावरण नबनाउन छिटो र परिपक्व ऐन बनाउनुपर्नेमा जोड दिए ।

शिक्षकको आन्दोलनले बैठकमा ढिला पुगे सांसद

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्मा बैठकमा ढिला पुगे । निजामती कर्मचारीलाई पनि शिक्षकजस्तै सडकमा आन्दोलन गर्ने वातावरण नबनाउन सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘यो बैठकमा आउँदै गर्दा केही बेर जाममा परेँ, त्यो नियमित प्रकृतिको जाम थिएन । त्यो शिक्षक आन्दोलनको जाम थियो । सडकमा भएको अस्तव्यस्ततालाई राज्यव्यवस्थाले पनि ख्याल गरोस् । सरकारले आन्दोलनरत शिक्षकहरूसँग संवाद र वार्ताबाट समाधान खोजेर कक्षाकोठामा फर्काउनुपर्छ । चाँडै १२ को परीक्षा पनि सुरु हुँदै छ । त्यसैले निजामती कर्मचारीलाई पनि उनीहरूलाई जस्तै सडकमै जाने वातावरण बनाउन हुँदैन । सरकारको ध्यान जाओस्,’ उनले भने ।

उनले निजामती कर्मचारी भनेको त राज्यकै अंग भएको बताए । विधेयक बनिसकेपछि सबैको चित्तबुझ्दो बनाउनुपर्ने र आन्दोलनमा जान लागेका निजामती कर्मचारीलाई पनि समितिमा बोलाएर छलफल गर्नुपर्ने उनको जोड थियो । ‘एउटा सीडीओ कार्यालयमा होस् वा गाउँपालिकामा काम गरिरहेको कर्मचारी, उनीहरूलाई उत्प्रेरित गर्ने गरी काम गर्न सकिएन भने विधेयक आयो तर नयाँपन आएन भन्ने हुन्छ । विधेयकहरू नयाँ विधेयक होइन नयाँपनको खोजीमा छन्,’ शर्माले भने, ‘अहिले यहाँ उहाँहरूले ज्ञापनपत्र बुझाउनुभएको छ । विभिन्न संगठनसँग जोडिएका साथीहरू हुनुहुन्छ । विधेयक बनिसकेपछि हामीले सबैलाई चित्तबुझ्दो बनाउन परिपक्व हुनुपर्छ ।’ एमालेका सांसद वासुदेव घिमिरेले पनि आन्दोलनको मौसम चलिरहेको र यसमा निजामती कर्मचारीलाई सामेल हुने वातावरण बनाउन नहुने बताए । कांग्रेसका सांसद हृदयराम थानीले शिक्षकजस्तै कर्मचारी सडकमा आउने वातावरण नहोस् भन्दै सचेत गराए । ‘आज हजारौँ शिक्षक सडकमा छन् । भोलि कर्मचारी सडकमा जाने अवस्था नहोस्,’ उनले भने ।

दिन तोक्ने दबाबमा सत्तापक्ष

शुक्रबारको बैठकमा विधेयकको विवादित विषयमा समाधान गर्न बनेको उपसमितिका संयोजक दिलेन्द्र बडू पनि उपस्थित थिए । उनले विवादित विषयमा उपसमितिबाट टुंगोमा पुगिएको र केही फरक मतका विषयमा समितिमा छलफल गरेर टुंगोमा पुग्नुपर्ने बताए । उपसमितिले विज्ञका साथै राजनीतिक तहमा शीर्ष नेतृत्वसँग पनि छलफल गरेर सो विषयमा टुंगोमा पुगिएको बताए ।

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संसदीय समितिबाट ३ दिनभित्रै विधेयक पास गर्न जोड दिए । ‘संवैधानिक परिषद्‌सम्बन्धी विधेयकमा एमालेको फरक बुझाइ थियो । तैपनि अगाडि बढ्छ भने बढोस् भनेर हामीले सहमति जनायौँ र फरक मत लिखित रूपमा राखेनौँ । यो कुरा म विपक्षी दललाई स्मरण गराउन चाहन्छु,’ एमाले सांसद रघुजी पन्तले भने ।

उनले घुमाउरो भाषामा माओवादी केन्द्रलगायत विपक्षीलाई फरक मत लिखित रूपमा नराख्न आग्रह गरे । कांग्रेस सांसद दिलेन्द्र बडूले पनि कतिपय अवस्थामा आफूलाई लागेकै जस्तो हुन नसक्ने ख्याल गर्न आग्रह गरे । ‘कतिपय विषयमा व्यक्तिको बुझाइअनुसार पनि नभएको हुन सक्छ । सबै सहमत हुने वातावरण बनाऔँ,’ उनले भने । विधेयक धेरै लम्ब्याउन नहुनेमा उनको जोड थियो । ‘धेरै कुरा क्लियर भएका छन् । अब एक राउन्ड छलफल गरौँ । दुई दिन, तीन दिनभन्दा बढी नलगाऔँ,’ बडूले भने ।


६ वैशाख २०८२, शनिवार ०६:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु