punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम सरकारले बेतन कर्णाली निर्माणको लगानी जुटाउने

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणको लगानी जुटाउने बताएको छ।

प्रदेश सरकारले चार सय ३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने दाबी गरेको हो।
बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणको लगानीको सुनिश्चित नभएको बेला सुदूरपश्चिम सरकारले जुटाउने बताएको छ। लगानीको सुनिश्चित नभएकाले २ वर्षदेखि आयोजनाको काम ठप्प रहेको छ। कम्पनीले विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरेको छैन।

तर, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री, उर्जा मन्त्री र अर्थमन्त्रीसँग बेतन कर्णाली जलविद्युत् आयोजनाको लगानी प्रदेश सरकारले जुटाउने प्रतिबद्धता गरेको बताए। उनले भने, ‘नेपालमा सस्तोमा निर्माण हुने बेतन कर्णाली छ। प्रधानमन्त्री, उर्जा मन्त्री र अर्थ मन्त्रीलाई अगाडि बढाउन भने। आयोजना अगाडि बढाउन आर्थिक समस्या भए, जिम्मा मलाई दिनुस्। लगानीको पूर्ण व्यवस्था गर्ने जिम्मा मलाई दिनुस् भने। तर, अहिलेसम्म जवाफ पाएको छैन।’

बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण सुरु गरेको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर, सम्भाव्यता अध्ययन पूरा भएको ५ वर्ष पूरा हुँदा पनि निर्माणको प्रक्रिया सुरुसमेत भएको छैन। विद्युत् विकास विभागले माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई लाइसेन्स दिँदा प्रभावित क्षेत्र बढी जमिन ओगटेर दिएको छ। सोही कारणले बेतन कर्णालीको ड्यामको जलाशय क्षेत्रसमेत माथिल्लो कर्णालीको प्रभावित क्षेत्रमा पुग्ने देखिएको छ। विभागका सूचना अधिकारी बद्री कुइकेलले बेतन कर्णालीलाई उत्पादन अनुमति नदिएको बताए। उनले भने, ‘बेतन कर्णालीको पानी माथिसम्म जान्छ। लगानी बोर्डलाई लेखेर पठाएका छौ। तर, जवाफ आएको छैन। बेतन कर्णाली चार सय ३९ मेगावाटको हो।’ बेतन कर्णालीको ड्याम बनाउँदा माथिल्लो कर्णालीको कोर्डिनेट क्षेत्रभित्र (ब्याक वाटर) उक्त क्षेत्रमा जाने भएकाले निर्माण अनुपातीमा ढिलाइ भएको विभागले जनाएको हो। तर, बेतन कर्णालीका प्राविधिकहरू भने आयोजनाले माथिल्लो कर्णालीको विद्युत् उत्पादनमा कुनै असर नपर्ने बताउदै आएका छन्।

बेतन कर्णालीले निर्माण पूर्वका अधिकांश तयारीहरू भने पूरा गरेको छ। जग्गा अधिग्रहण, सडक पहुँच, वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी सार्वजनिक सुनुवाइ, इआईए स्वीकृत जस्ता काम पूरा भएका हुन। बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले लाइसेन्स प्राप्तिको चरणमा रहेको बताउदै आएको छ।

आयोजना निर्माणका लागि तीन वर्ष लगाएर सम्भाव्यता अध्ययन गरिएको थियो। ४३९ मेगावाटको अर्धजलाशययुक्त आयोजनाको विद्युत्गृह, बेस क्याम्प हाउस, हेड टनेल अछामको ढकारी गाउँपालिका–६, डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ तथा बाँधस्थल दुबै गाउँपालिकाको सीमामा पर्छ।

विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदनमा १७२ दशमलव ७५ मिटर लम्बाइ र ९० मिटर उचाईका बाँध (ड्याम) बन्नेछन्। बाँधमा ६/६ वटा गेट राखिनेछ। पावरहाउसमा ७१ दशमलव ६८ मेगावाटका ६ वटा टर्बाइन रहनेछन्।

आयोजनाका लागि बाँध निर्माण गर्नु पूर्व कर्णाली नदीलाई ९ दशमलव ८ मिटर ब्यास, ५८४ मिटर तथा ७२७ मिटर लम्बाइका दुई वटा डाइभर्सन टनेलबाट मोडिनेछ। बाँधको पानीलाई विद्युत् उत्पादन गृहसम्म ८ मिटर ब्यासका ३ वटा सुरुङबाट पु¥याइनेछ। जसको लम्बाइ सरदर दुई हजार १५ मिटर रहनेछ। बाँधदेखि २ दशमलव ०१५ किलोमिटर तल भूमिगत पावरहाउस रहनेछ।

आयोजनाबाट सुर्खेतको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिका–७ र अछामको ढकारी गाउँपालिका–६, तुर्माखाद गाउँपालिका–३, ४ र ५ वडाका बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन्। आयोजनाको कुल लागत ९१ अर्ब हुने अनुमान गरिएको छ।


८ चैत २०८१, शुक्रवार १३:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु