स्वास्थ्य क्षेत्रको अनुसन्धानले गुणस्तर वृद्धिमा सहयोग पुग्छ : मन्त्री खड्का

धनगढी । स्वास्थ्य क्षेत्रको अनुसन्धानले गुणस्तर वृद्धिमा सहयोग पुग्ने सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले बताएका छन् । धनगढीमा आज आयोजना भएको सुदूरपश्चिममा स्वास्थ्य अनुसन्धानको आवश्यकता र सरोकारवाला तथा मिडियाको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा मन्त्री खड्काले सो कुरा बताएका हुन् ।

मन्त्री खड्काले राम्रो स्वास्थ्य नीति बनाउनका लागि पनि अनुसन्धान आवश्यक रहेको बताए । यसका लागि मिलेर काम गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ।
मन्त्री खड्काले भने,“स्वास्थ्य सम्बन्धी हामीले कस्तो नीति बनाउने हो, कस्तो नीति बनाउँदा स्वास्थ्यमा गुणस्तर आउँछ ? त्यसका लागि पनि अनुसन्धान जरुरी छ।”

उनले प्रदेशमा पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रदेश कार्यालयको आवश्यकता रहेको बताए । “यसका लागि आर्थिक पाटोमा हामी कसरी सहभागी हुनुपर्छ, त्यसमा पनि प्रतिबद्ध छौं”, खड्कालमे भने ।

प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारमा सञ्चार जगतको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाई छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र हेल्थटुडे मिडियाको आयोजनामा कार्यक्रममा हेल्थटुडे मिडियाका अध्यक्ष पदमराज जोशीले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यको अवस्था र आगमी दिनमा ३ वटै तहको सरकारले गर्नुपर्ने कामका बारेमा जानकारी दिएका छन् । त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्भकी वरिष्ठ अनुसन्धान अधिकृत सुलोचना घिमिरेले नेपालमा अहिले सम्म स्वास्थ्य क्षेत्रमा भईरहेको अध्ययन अनुसन्धानका बारेमा जानकारी दिएकी थिईन ।


२४ पुस २०८१, बुधवार १९:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु