punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पर्या–पर्यटन प्रवर्द्धन गर्न सोभातालमा डुङ्गा सञ्चालन

Chaupati
safha napa
कञ्चनपुर । पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बेलौरी नगरपालिका–५ सोभातालमा डुङ्गा (वाटर बोट) सञ्चालनमा ल्याइएको छ ।
पर्यटकीय क्षेत्र अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षितगरी नगरपालिकाले सङ्घीय सरकारको शसर्त अनुदानमा पाँच वटा डुङ्गा खरिद गरी सञ्चालनमा ल्याएको हो ।
सोही बजेटबाट पर्यटकीय क्षेत्रलाई थप आकर्षक बनाउन भगवान् गौतमबुद्धको मूर्ति पनि ल्याइएको छ । डुङ्गा सञ्चालनको जिम्मा सोभाताल संरक्षण समितिलाई दिइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिकाले सोभाताल पर्यटकीय क्षेत्रको आठ हेक्टर क्षेत्रफलमा रहेका पाँच वटा तालमध्ये दुईमा डुङ्गा सञ्चालन, दुईमा माछापालन र एउटामा स्वीमिङ पुल निर्माण गरिएको नगर उपप्रमुख जोगराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार तालमा वर्षभरि एकनासको पानी प्रवाहको व्यवस्था मिलाउन ताल क्षेत्रमा दुई वटा बोरिङ जडान गरिएका छन् ।
सोभातालको भौतिक पूर्वाधार विकासमा हालसम्म रु २५ करोडको खर्च भइसकेको नगर उपप्रमुख चौधरीले बताउनुभयो । उहाँका अनुसार पर्यटकको सुविधाका लागि ‘सेल्फी’ क्षेत्र, आकर्षक पखेटा, सभाहल, अतिथि गृह, पर्खाल, गेट, ठाउँठाउँमा विश्राम गर्न गोलघर, फुटपाथ, मनोरञ्जनात्मक तथा अन्य कार्यक्रम गर्न मञ्च निर्माण गरिएको छ ।
“यसअघि यहाँ आउने पर्यटकलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको थियो”, उपप्रमुख चौधरीले भन्नुभयो, “पर्यटकीय क्षेत्रमा टिकट काउन्टरको व्यवस्था गरी प्रवेश तथा डुङ्गा सवार गरेको शुल्क लिने गरेका छौँ । पर्यटक र पर्यटकीय क्षेत्रको सुरक्षा गर्न कर्मचारी राख्ने योजनासहित प्रक्रिया अगाडि बढाएका छौँ ।” यस कार्यले पर्यटकीय क्षेत्रका भौतिक पूर्वाधारको सुरक्षा हुनुका साथै नगरपालिकाको आन्तरिक आयमा वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
सोभाताल संरक्षण समितिका अध्यक्ष जगदीश चौधरीले पर्यटकीय गतिविधिमा वृद्धि भएसँगै स्थानीय बासिन्दाको रोजगारीका अवसरमा समेत वृद्धि हुने बताउनुभयो । “यहाँको व्यापार व्यवसाय फस्टाउँछ । रोजगारीका नयाँ अवसर सिर्जना हुन्छन्”, उहाँले भन्नुभयो, “पर्यटकीय गतिविधिले आयमा वृद्धि भई स्थानीयको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ ।” पर्यटकीय क्षेत्रको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरपालिकासँग छलफल गरी योजनाबद्ध रुपमा अगाडि बढ्ने उहाँले उल्लेख गर्नुभयो ।

४ साउन २०८१, शुक्रवार १२:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु