punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल–भारत सीमा क्षेत्रको १०५ नम्बर ‘पिलर’ कटानको उच्च जोखिममा

Chaupati
safha napa

टीकापुर । नेपाल–भारत सीमा क्षेत्रमा कैलालीको टीकापुर–९ खक्रौलामा रहेको १०५ नम्बर पिलर कटानको उच्च जोखिममा परेको छ ।

मोहना नदीले कटान तीव्र पारेपछि सीमा पिलर जोखिममा परेको हो । सीमामा रहेको पिलर नदी कटानको जोखिममा परेपछि स्थानीय चिन्तित भएका छन् । सो नम्बरको पिलर भत्काउन ५० फिट पनि बाँकी नरहेको बताइएको छ ।

मोहना नदीले पिलर बगाउने हो भने दुई दर्जन परिवारको विस्थापितहुने र सयौँ बिघा जमिन नदीमा परिणत हुने स्थानीय बताउँछन् । भारत र नेपालको सीमामा पर्ने १०५ नम्बर पिलर मोहना नदीले बगाउने जोखिम रहेको स्थानीयवासी खड्ग धामीले जानकारी दिनुभयो । “पिलर बगाएपछि समस्या हुन्छ”, उहाँले भन्नुभयो, “स्थानीय जनता आफ्नो जमिन बग्ने र भारततर्फ जाने हो कि भन्ने चिन्तामा छन् ।”

“मोहना नदी पिलरतर्फ ठोक्किन थालेको छ, वर्षात् आयो कि पिलर बग्छ भनेर स्थानीय चिन्तामा बसेका हुन्छन्”, उहाँले भन्नुभयो । पिलर जोखिममा देखिएपछि टीकापुर नगरपालिकाले विपद् कोषको बजेटबाट बोल्डर हाल्ने (ठूला ढुङ्गाको तटबन्ध गर्ने) निर्णय गरे पनि काम भएन । “पिलर जोखिममा छ भनेर नै विपद् कोषको बजेटबाट रु १० लाख विनियोजन भएको हो, उपभोक्ता समिति पनि गठन भयो तर काम भएन”, टीकापुर नगरप्रमुख रामलाल डगौँरा थारूले भन्नुभयो, “यो राष्ट्रिय चासोको विषय पनि हो, यसमा प्रदेश र सङ्घीय सरकारको ध्यान जानुपर्छ ।”

बोल्डर हाल्न उपभोक्ता समिति गठन भए पनि निर्माण व्यवसायीले काम गर्न नमानेको समितिका अध्यक्षका धिरेन्द्र थापाले जानकारी दिनुभयो । “निर्माण व्यवसायीले गर्छु भनेपछि रु पाँच लाख ‘अग्रिम’ मागेपछि हामीसँग पैसा भएन”, उहाँले भन्नुभयो, “रु १० लाखले तटबन्धको काम पूरा हुने पनि थिएन ।”

अध्यक्ष थापाले पिलर जोखिममा रहेको हुँदा कम्तीमा पाँच–छ ठाउँमा बोल्डर हाल्ने हो भने केही राहत हुने बताउनुभयो । वडा कार्यालयले तटबन्ध गर्नुको साटो नदी किनारको बाटोमा कालोपत्र सडक निर्माण गरेर बजेट सकाएको स्थानीयले गुनासो गर्दै आएको पनि उहाँले बताउनुभयो

“१०५ नम्बर पिलर जङ्गे पिलर हो नेपाल र भारतका सीमाविद्हरूले यो पिलर सार्ने प्रयास गरेका हुन् हामीहरूले दिएनौँ”, स्थानीय शिक्षक अनिल कोइरालाले भन्नुभयो, “पिलर सार्दा नेपालतर्फको भूमि गुम्न सक्ने जोखिम हुन्छ ।”

उहाँले १०३ नम्बर पिलर नेपाल–भारत सीमा नजिक रहेको मोहना पुल नजिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पिलर रक्षा गर्न यथाशीघ्र तटबन्ध गर्नुपर्छ ।” तत्कालीन राजा महेन्द्र शाहको पालामा त्यस क्षेत्रको बस्ती पनि बसाउने गरी भारतीय पूर्वसैनिकलाई बसालिएको स्थानीयको भनाइ छ । केही परिवार अझै त्यहाँ बसिरहेका छन् ।


२६ असार २०८१, बुधवार १०:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु