मध्य र पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी हुने
काठमाडौं । मध्य र पश्चिम तराईका भूभागमा आउँदा केही दिन अझै गर्मी यथावत रहेन सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागका कतिपय स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ती भूभागमा अबका चार दिन (असार ३ देखि ६ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।
तातो हावा तथा तातो लहरका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्तालगायत समस्या हुन सक्ने महाशाखाले जनाएको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, सुतीको कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित (पटक–पटक) पानी तथा झोलपदार्थ (जुस, सर्बत आदि) प्रशस्त मात्रामा पिउन महाशाखाको सुझाव छ ।
३ असार २०८१, सोमवार ०७:४४ बजे प्रकाशित






























