punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आरन व्यवसायबाट राम्रो आम्दानी गर्दै व्यवसायी

Chaupati
safha napa
कैलाली । परम्परागत सीपमा आधारित आरन व्यवसायबाट यहाँका व्यवसायीले राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय आरन व्यवसायी घट्दै गएका भए पनि व्यवसायमा लागेकाले भने राम्रो आम्दानी गर्न थालेका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–११ बेलाका खेमबहादुर विकले पुराना घरायसी प्रयोजनका सामान मर्मत गरेर मात्रै दिनमा रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।
“कुनै दिन रु तीन हजारसम्म पनि आम्दानी हुन्छ, नयाँ सामान बनाउनसके त राम्रै कमाइ हुन्छ, पुराना मर्मत गरेर पनि कमाइ ठिकठिकै हुन्छ, दैनिक रु एक हजार पाँच सयसम्म बचत हुन्छ”, उहाँले भन्नुभयो, “खेतीपाती गर्न जग्गा जमिन छैन्, अन्य रोजगारी पनि केही छैन, सात जनाको परिवार छ,  छोराछोरीको लालनपालन, पढाइलेखाइ खर्च यसैबाट चलाएको छु ।”
नयाँ बनाएको बञ्चरोलाई रु तीन हजारसम्म, हँसियालाई रु पाँच सयदेखि रु एक हजार पाँच सयसम्ममा बिक्री गर्ने गरेको विकको भनाइ छ । “कृषि तथा घरायसी प्रयोजनका सबै सामान बनाउने सीप छ”, ४० वर्षीय विकले भन्नुभयो, “आधुनिक औजारको प्रयोग गरेर काम गर्न पाएको भए त मनग्य आम्दानी हुन्थ्यो ।”
त्यस्तै जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारका शेरबहादुर तिरुवाले आरन व्यवसायबाट राम्रै आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाइ हुन्छ, कुनै दिन रु तीन हजारसम्म पनि कमाइ हुन्छ, खर्च कटाएर दैनिक रु एक हजार पाँच सयसम्म बचत हुन्छ ।”
उहाँले सम्पूर्ण घर खर्च यसै आरन पेसाबाट चलाएको बताउनुभयो । उमेरले ५० वर्षीय तिरुवाले भन्नुभयो, “१० जनाको परिवार यसै पेसाबाट पालेको छु, अरु आम्दानीको स्रोत केही छैन ।” औजार आधुनिक किसिमका भए आरन पेसाबाट अझ राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ ।
“हामीले काम गर्ने औजार पुरानै भए, यी औजारबाट सामान बनाउन मेहनत धेरै लाग्छ”, उहाँले भन्नुभयो, “औजार आधुनिक किसिमका भएको भए सामान बनाउन सजिलो हुन्थ्यो, आम्दानी पनि बढी लिन सकिन्थ्यो, अरुलाई रोजगारी पनि दिन सकिन्थ्यो ।”
उहाँले कृषि तथा घरायसी प्रयोजनका सबै सामान सबै सामान बनाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ तयार गरिएको एउटा हँसिया रु एक हजारदेखि रु एक हजार पाँच सय, खुडा रु तीन हजारसम्ममा बिक्री हुन्छ ।”
त्यस्तै सोही ठाउँका खडक तिरुवाले पनि आरन व्यवसायबाट दैनिक रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । “मेहनत पनि छ, आम्दानी पनि हुन्छ, मैले कुटो, कोदालो, बञ्चरो, हँसियालगायत कृषि तथा घरायसी प्रयोजनका सबै सामान बनाउने गरेको छु”, तिरुवाले भन्नुभयो ।
उहाँको पाँच जनाको परिवार छ । सबै घरखर्च, छोराछोरीको पढाइलेखाइ यसैबाट धानेको उहाँको भनाइ छ । आरनकै काम सिकेकाले अरु काम गर्न मन नलाग्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पुरानै शैलीमा काम गरिने भएकाले मेहनत बढी लाग्छ ।

२७ जेठ २०८१, आइतवार १५:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु