धनगढी उपमहानगरपालिकाले दियो नगर प्रहरीलाई विपद उद्धारमा खटिन सक्ने गरी गोताखोर तालिम
धनगढी । धनगढी उपमहानगरपालिकाले देशभरमै पहिलो पटक नगर प्रहरीलाई विपद उद्धारमा खटिन सक्ने गरी गोताखोर तालिम दिएको छ। उपमहानगरपालिकाले नगरमा हुने विपदका वेला उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आफ्नै नगर प्रहरीलाई तयार पारेको हो।
उप महानगरपालिकाका विपद शाखाका अनुसार बर्षायाममा बाढी र डुबानबाट हुने विपदको समयमा नागरिकको सुरक्षा गर्न नगर प्रहरीलाई गोताखोर तालिम प्रदान गरिएको हो। सशस्त्र प्रहरी बलको गोताखोर टोलीसँग समन्वय गरेर नगर प्रहरीलाई बाढी तथा डुबानमा कसरी नागरिकको उद्दार गर्ने भन्ने बारेमा तालिम प्रदान गरिएको शाखाले जनाएको छ।
धनगढीका १७, १९, ३, ६ नम्बर वडा सम्भावित डुबान क्षेत्र हुन् । उप महानगरपालिकासँग हाल २५ जना नगर प्रहरी छन्। विपद शाखाले ‘सुरक्षामा खटिने प्रहरीका लागि लाईफ ज्याकेट, डुङ्गा लगायत उद्दार सामग्री तयारी अवस्थामा राखेको जनाएको छ।
२३ असार २०८०, शनिवार ०८:३९ बजे प्रकाशित































