सत्ता गठबन्धन भत्किदैन : मन्त्री साउद
डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने बताएका छन्। आज शनिवार डडेल्धुरामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले बजारमा आएको हल्लामा कुनै सत्यता नभएको बताएका हुन् । उनले एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छ्न् ।
‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ। हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनैपनि सम्भावना रहेको छैन,’ उनले भने।
सरकारले प्रतिपक्षका मागलाई अधिकतम सम्बोधन गर्ने प्रयन्त गरेको बताए।
पहिलोपटक भारतसँग कुटनैतिक रुपमा कालापानी तथा लिम्पियाधुरा क्षेत्रको समस्याका बारेमा कुरा अगाडि बढाइएको समेत उनले प्रष्ट पारे। केही समयअघि भएको प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो समस्या समाधानबारे सकारात्मक जवाफ दिएको उनले बताए।
भारतका प्रधानमन्त्रीले पहिलोपटक सीमा लगायतका मुद्दाहरु वार्तामार्फत समाधान गरिनेछ भनेर भन्नुभएको छ’, मन्त्री साउदले भने, ‘भारतले नेपालको भू-भाग डुबान हुनेगरी महाकाली नदीमा निर्माण गरिरहेको संरचनाका बारेमा पनि हामीले जानकारी गराएका छौं।’
साथै, मन्त्री साउदले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरका सीमावर्ती क्षेत्रका नागरिकलाई दिइरहेको दु:खका बारेमा पनि भारतीय पक्षलाई जानकारी दिएको बताए।
उनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पालादेखि प्रक्रिया थालिएको डडेल्धुराको परशुरामको शिर्ष र बैतडीको झुलाघाटमा निर्माण हुने पक्की पुलको काम ६ महिनाभित्र सुरु हुने बताए।
१६ असार २०८०, शनिवार १२:३२ बजे प्रकाशित





























