धनगढीमा राप्रपा अध्यक्ष लिङ्देनको प्रस्ताव : राजा ल्याऊ, प्रदेश सरकार खारेज गरौँ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकार नै खारेज गर्नु पर्ने बताएका छन् ।
धनगढीमा आज आयोजित प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संघीयताका कारण देश गरिब भएको भन्दै प्रदेश सरकार खारेज गर्नु पर्ने बताएका हुन् ।
‘सरकारले प्रदेशका सांसद मन्त्रीहरूलाई पाल्दै बसेको छ। प्रदेश सरकारको अहिलेको अवस्थामा काम नभएकोले प्रदेश सरकार नै खारेज गर्नुपर्छ ’ अध्यक्ष लिङ्देनले भने ।
पूर्व उपप्रधानमन्त्री समेत रहेको लिङ्देनले आफू सरकारमा रहँदा दश वर्षसम्म हुन नसकेका कामहरू ४० दिनमै पुरा गरेको बताए।
अध्यक्ष लिङदेनले देशका नेताहरूले अराजक गतिविधि बढाइरहेकाले राजाको माग गरेको बताए। उनले भने –‘हामीले देश राजा मय भनेका होइनौ, काम गर्ने शैली राजतन्त्रको राम्रो भएकोले हामीले देशमा राजा ल्याऊँ भनेका हुँ।’
उनले आफ्नो पार्टीले देशको नेतृत्व गर्ने अवसर पाएमा छोटो समयमै अर्थतन्त्र सुधार हुने दाबी समेत गरेका थिए । त्यस्तै, कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राप्रपाले तीस वर्षदेखि बोक्दै आएको मुद्धा संवैधानिक राजसंस्था र हिन्दु राज्य नेपाललाई अँगालेर आफू राजनीतिमा आएको उल्लेख गरे।
दुई दिनसम्म हुने सम्मेलनमा पार्टीका आधारभूत सिद्धान्त, नीति, समसामयिक राजनीतिक अवस्था, भावी रणनीति लगायतका बारेमा बहस, छलफल गर्न भेला आयोजना गरिएको राप्रपाले जनाएको छ।
११ वैशाख २०८०, सोमवार २१:२३ बजे प्रकाशित






























