सरकारमा पठाउने थप मन्त्रीहरुको नाम टुङ्ग्याउन कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
पछिल्लो मन्त्रिपरिषद् बिस्तारका क्रममा आफ्नो कोटा अनुसार मन्त्रीको नाम पठाउन नकसकेको नेपाली काँग्रेसले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
आजको उक्त बैठकले थप मन्त्रीहरु को–कस्लाई मन्त्रीमा पठाउने भन्ने विषयमा छलफल गर्नेछ ।
काँग्रेसले पाएको ८ मन्त्रालयमध्ये यसअघि ४ मन्त्री मात्रै पठाएको थियो । पार्टीभित्रै आन्तरिक कलह देखिएपछि मन्त्रीहरुको नाम पूर्णरुपमा प्रधानमन्त्रीकोमा पुगेको थिएन ।
आज बिहान १० बजे बस्ने केन्द्रीय सम्पादन समितिको बैठकले थप चार मन्त्रीको नाम तय गर्ने प्रयास गर्नेछ ।
पार्टीभित्रकै गुटहरुका कारण मन्त्री छनौँटमा समस्या पर्दा चारजना मन्त्री मात्रै पठाउन सभापति शेरबहादुर देउवा बाध्य भएका थिए ।
काँग्रेसको कोइराला पक्षधर मन्त्रालयप्रति असन्तुष्टि जनाए जनाउँदै सम्मानजनक हिस्सेदारीको माग गरिरहेको छ ।
त्यस्तैगरी आजको काँग्रेस केन्द्रीय सम्पादन समिति बैठकले बारा – २ मा हुने उपनिर्वाचनको उम्मेदवार पनि टुंगो लगाउँदैछ ।
उपनिर्वाचन हुने अन्य क्षेत्रमा काँग्रेसले उम्मेदवार टुङ्गो लगाइसकेको भएपनि बारा– २ मा भने उम्मेदवार चयन गरिसकेको छैन ।
काँग्रेसले उक्त क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्नसक्ने अनुमान गरिएको छ ।
१९ चैत २०७९, आइतवार ०७:०८ बजे प्रकाशित































