पत्नीलाई घुमाउन अर्कै गाउँ लगेर हत्या, शवबाहन खोज्दा खुल्यो पोल !
विराटनगर महानगरपालिका–१९ घर भएकी २८ वर्षीया प्रियंका सुनुवार साहको हत्या उनकै पति २९ वर्षीय रमेश साहले गरेको खुलेको छ ।
पारिवारिक सम्बन्धमा आएका खटपटको कारणले हत्या भएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले बताए । थप २ जना सहयोगीसँग मिलेर हत्या गरेको मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले हत्या आरोपमा पति साहसहित मोरङको कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रमानन्द राम र ३५ वर्षीय उमेश सरदारलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ ।
हत्या गरी बोरामा पोको पारेर फालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव सोमवार दिउँसो १२ बजेतिर फेला परेको थियो ।
घरको आँगन जोडिएको ग्वालीमा शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ । घाँटी र कानमा चोटपटक रहेका कारण हत्यापछि प्रियंकाको शव बोरामा पोको पारेर फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार नरसिंहको घरभित्र हत्या गरेर शव ग्वालीमा फालेको आशंका छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएर घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।
प्रियंकाकोे माइतीघर भारत हो । उनका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन् । घरमा पतिपत्नीको सम्बन्धनमा खटपट हुने गरेको प्रहरीले जनाएको छ ।
८ फागुन २०७९, सोमवार १९:३९ बजे प्रकाशित































