कांग्रेस नेता भण्डारीबारे अस्पतालको प्रारम्भिक रिपोर्ट – अवस्था खतरामुक्त, आज दुई वटा शल्यक्रिया गरिने
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको अवस्था खतरामुक्त भएको चिकित्सकहरूले बताएका छन् ।
खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट भइ घाइते भएका भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए । उनले भने, ुनेपालबाट ल्याउँदा अवस्था स्थिर थियो यहाँ आएपछि चिकित्सकले प्रारम्भिक परीक्षण गरेपछि खतरामुक्त रहेको बताउनुभएको छ ।ु न्यौपाने भण्डारीसँगै मुम्बइ गएका छन् ।
भण्डारीको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको आज दुई वटा शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएको न्यौपानेले टेलिफोनमा जानकारी दिए ।
भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देश बाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण सिफारिस गरेको हो ।
आफ्नो निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।
५ फागुन २०७९, शुक्रवार ०७:१९ बजे प्रकाशित













