महाकालीको भत्किएको झोलुंगे पुलको अनुगमनमा पुगे रमेश लेखक, पुनर्निर्माण गर्न सरकारसँग आग्रह

धनगढी। नेपाली कांग्रेसका नेता रमेश लेखकले महाकाली नदीमाथिको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुंगे पुलको पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

शुक्रबार भत्किएको पुलको अनुगमनमा पुगेका लेखकले पुलको अवस्थाले आफूलाई दुःख लागेको बताउँदै यथाशीघ्र पुनर्निर्माण र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
उनले उक्त पुल दोधारा चाँदनी वा कञ्चनपुरको मात्र नभई सिंगो देशकै ऐतिहासिक सम्पदा भएको बताए । कुनै समय दोधारा चाँदनीबाट नेपालको अन्य भूभागमा आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले पुलले यस क्षेत्रलाई देशका अन्य भागसँग प्रत्यक्ष जोड्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

२०५६ सालमा कञ्चनपुरबाट पहिलो पटक निर्वाचित भएपछि तत्कालीन प्रतिनिधिसभामा महाकाली नदीमा झोलुंगे पुल निर्माण गरी दोधारा चाँदनी जोड्नुपर्ने प्रस्ताव राख्दा कतिपयले त्यसलाई असम्भव भन्दै ठट्टा गरेको लेखकले बताए । तर, सरकारको बजेट, नेपाली प्राविधिक र निर्माणकर्ताको सहयोगमा पुल निर्माण गर्न सफल भएको उनको भनाइ छ ।

लेखकका अनुसार उक्त पुल निर्माणपछि नेपालका अन्य स्थानमा पनि लामा झोलुंगे पुल निर्माण गर्ने प्रविधिको विकास र विस्तारमा सहयोग पुगेको थियो । त्यसैले ऐतिहासिक महत्त्व बोकेको पुलको संरक्षण, पुनर्निर्माण तथा नियमित मर्मतसम्भार आवश्यक रहेको उनले बताए ।


२३ असोज २०८३, शुक्रवार १३:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु