डडेल्धुरा महोत्सव सुरु,आरजुले गरिन् उद्घाटन
‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन‚ कला‚ संस्कृति‚ खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सव’ शुरु भएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघको आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यापार समृद्ध डडेल्धुराको आधार’ नारासहित बिहीबार अमरगढी नगरपालिका–४ टुँडिखेलमा महोत्सव शुरु भएको हो।
महोत्सवको बिहीबार दिउँसो प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले उद्घाटन गरिन्। सांसदले राणाले डडेल्धुराको समग्र विकासका लागि आफू लागिपर्ने बताइन्। यहाँको विकासका लागि स्थानीय उत्पादनको बजारीकरणसँगै पर्यटकीय क्षेत्रको प्रवर्द्धन आवश्यक रहेको बताइन्। राणा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी हुन्।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, संविधानसभा सदस्य ज्ञानु गैरे, प्रदेशसभा सदस्यद्वय डा ताराप्रसाद जोशी र सरस्वती खड्कालगायतको उपस्थिति थियो।
यहाँका ऐतिहासिक पुरातात्विक‚ सांस्कृतिक‚ धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्वद्धन तथा कला संस्कृतिको जर्गेना गर्न महोत्सव आयोजना गरिएको डडेल्धुरा उद्योग वाणिज्यका अध्यक्ष द्विजराज भट्टले बताए। उनले डडेल्धुराको विकासका लागि मेडिकल कलेज, विमानस्थल, सडक विस्तारलगायत योजना शीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए।
महोत्सवमा १ सय ५० स्टल राखिएको छ। महोत्सवमा सर्वसाधारणका लागि ७५ र विद्यार्थीका लागि ५० रूपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। विद्यालय तथा क्याम्पसका विद्यार्थी विद्यालयको पत्रसहित टोलीमा आए १० प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ।
महोत्सव फागुन १४ गतेसम्म सञ्चालन हुनेछ।
४ फागुन २०७९, बिहीवार २१:३५ बजे प्रकाशित































