महोत्सव उद्घाटन गर्दै सुदूरपश्चिमका भौतिक मन्त्री देउवाले भने -भौतिक पूर्वाधारको दिगो विकाससँगै नीतिगत सुधार गर्छु
सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेशको भौतिक पूर्वाधारको दिगो विकास सँगै नीतिगत सुधार गर्ने बताएका छन्।
विहीबारबाट डडेल्धुरामा सुरु भएको ५ औं डडेल्धुरा महोत्सवको उद्घाटन समारोहमा बोल्दै मन्त्री देउवाले आफ्नो कार्यकालमा सुदूरपश्चिम प्रदेशमा पूर्वाधारको क्षेत्रमा दिगो विकाससँगै नीतिगत रुपमै सुधार गर्ने उल्लेख गरे।
कृषि,पर्यटन, उद्योग र व्यापार समृद्व डडेलधुराको आधार भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा मन्त्री देउवाले नीतिगत सुधारका माध्यमबाट विकासका कामलाई रोजगारी सिर्जना गर्ने गरी छिटो छरितो सञ्चालन गर्न आफ्नो प्रयास रहने बताए।
उनले मेलाले डडेल्धुरा मात्र नभई समग्र सुदुरपश्चिमकै व्यवसायिक सम्भावनाको उजागर गर्ने बताए।
साना, घरेलु तथा उद्योग, कृिषजन्य उत्पादन सुदुरपश्चिमको आर्थिक गतिविधिका आधार हुन मन्त्री देउवाले भने अर्थतन्त्रलाई थप बलियो र चलायमान बनाउन र उत्पादनको प्रबर्द्नन तथा बजारीकरण गर्नमा पनि मेलाले सहयोग पुर्याउने छ।
मन्त्री देउवाले पूर्वाधारको विकासले उद्योग व्यापारको अवस्थामा सुधार ल्याउन सकिने कुरालाई आत्मसाथ गर्दै प्रदेश सरकारका तर्फबाट सबल अर्थतन्त्र निर्माणका लागि अहोरात्र खटिने प्रतिबद्वता व्यक्त गरे । कृषि तथा वन पैदावारमा आधारित उद्योग, साना लगानीका व्यवसाय सँगै जिल्लामा पर्यटनको पर्याप्त सम्भावना भएकाले यसको समुचित प्रयोगबाट नै समृद्व डडेलधुरा बन्ने मन्त्री देउवाको भनाइ छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा पश्चिम सेती परियोजनाको सम्झौता सम्पन्न भई कार्यान्वयनमा रहेको बताउँदै मन्त्री देउवाले यस क्षेत्रमा अब रोजगारीको सिर्जना र समग्र सुदूरपश्चिमकै आर्थिक विकासमा सहयोग पुग्ने उल्लेख गरे ।
महोत्सवको उद्घाटन नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले गरेकी थिइन्।
५ फागुन २०७९, शुक्रवार ०६:१० बजे प्रकाशित































