भारतविरुद्ध नेपालको रोमाञ्चक बराबरी, सावित्राले गरिन् दुई गोल

भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले रोमाञ्चक बराबरी खेलेको छ । बुधबार चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपाल र भारतले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।

खेलमा २ गोलको अग्रता उल्टाएर नेपालले खेल बराबरीमा टुंग्याउन सफल भयो । भारतलाई बराबरीमा रोक्न सावित्रा भण्डारीले २ गोल गरिन् । खेलको ५६ औं मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाइन् ।

६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् । खेलको ९० औं मिनेटमा सावित्राले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को स्थितिमा ल्याइन् ।

त्यसपछि खेलको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–२ को बराबरीमा ल्याइन् । ओलम्पिक छनोटको तयारीस्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ ।


४ फागुन २०७९, बिहीवार ०६:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु