टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित

दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टी–२० विश्वकपमा भारतले लगातार दोस्रो जित निकालेको छ । समूह ‘बी’ रहेको भारतले दोस्रो जित निकाल्ने क्रममा बुधबार राति वेस्ट इण्डिजलाई ६ विकेटले हरायो ।

पहिलो खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा वेस्ट इण्डिजले दिएको १ सय १९ रनको लक्ष्य १८।१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि ऋचा घोषले अविजित ४४, कप्तान हरमनप्रीत कौरले ३३, शफाली वर्माले २८ र स्मृति मन्धानाले १० रन जोडे । वेस्ट इण्डिजका लागि हेली म्याथ्यूज, करिश्मा रामहरक र चिनेल हेनरीले एक–एक विकेट लिए ।

त्यसअघि केप टाउनस्थित न्युल्याण्ड्समा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १८ रन बनायो । उसका लागि स्ट्याफनी टेलरले ४२, शेमेन क्याम्पबेलले ३०, चेडियन नेशनले अविजित २१ र शविका गजनबीले १५ रन बनाए ।

भारतका लागि दीप्ती शर्माले चार ओभरमा १५ रन दिएर सर्वाधिक तीन विकेट लिइन् । रेणुका सिंह र पूजा वस्त्रकारले एक–एक विकेट हात पारे ।

यो जितपछि पनि भारत अंक तालिकाको दोस्रो स्थानमा छ । समूह ‘बी’ को शीर्ष स्थानमा इंग्ल्याण्ड छ ।


४ फागुन २०७९, बिहीवार ०६:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु