मुख्यमन्त्रीको विश्वासको मत जुटाउने जिम्मा बलायरलाई, जुट्ला त बहुमत ?
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहलाई विश्वासको मत जुटाउने जिम्मा सुदूरपश्चिम प्रदेश पार्टी सभापति वीर बहादुर बलायरलाई दिइएको छ ।
आज धनगढीमा बसेको प्रदेश पार्टी कार्यसमितिका बैठकले पूर्व मन्त्री समेत रहेका पार्टीका प्रदेश सभापति बलायरलाई विश्वासको मतका लागि वार्ता र संवाद गर्ने जिम्मा दिइएको प्रदेश महामन्त्री मेघराज खड्काले बताए ।
उनले भने, ‘हुन त केन्द्रबाटै पनि यस बिषयमा छलफल भइरहेको छ तर, प्रदेश स्तरबाट पार्टी सभापतिलाई यस बिषयमा संवाद र छलफल गर्ने जिम्मा दिने निर्णय भएको छ । ’
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि कांग्रेस संसदीय दलका नेता शाह माघ २६ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यता रहेको छ ।
अहिले कांग्रेससँग आफ्ना १९ सांसद र नेकपा एकीकृत समाजवादीका ४ सांसद रहेका छन् । शाहले विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । स्वतन्त्र जितेका एक सांसद पनि कांग्रेससँगै रहने अवस्थामा पनि अझै ३ मत अपुग देखिन्छ ।
मुख्यमन्त्री शाहले माओवादी वा नागरिक उन्मुक्तिको मत नपाए सम्म विश्वासको मत पाउने सम्भावना छैन। अहिले माओवादी र नागरिक उन्मुक्तिसँग पनि कांग्रेसले आन्तरिक छलफल गरिरहेको छ । अब पार्टी सभापतिले त्यसको नेतृत्व गर्ने छन् ।
२९ माघ २०७९, आइतवार १९:३७ बजे प्रकाशित






























