फस्टाउन सकेन भादागाउँ थारु होमस्टे
दशक अगाडि कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँमा स्थापनामा भएको भादा होमस्टे फस्टाउन सकेको छैन । बाटोको समस्या लगायतका कारणले सञ्चालकहरूले चाहेअनुसार होमस्टे फस्टाउन नसकेको बताए ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट करिब १३ किलोमिटरको दूरीमा रहेको यो होमस्टेमा पाहुनाको आगमन सघन हुन नसकेपछि चाहेजस्तो नचलेको हो ।
योभन्दा पछि स्थापना भएको बर्दियाको डल्ला र पूर्वी नवलपरासीको अमलटारी होमस्टेमा राम्रो व्यापार भइरहेको छ । २०६७ मै स्थापनामा भएको भादा होमस्टेले भने अपेक्षा गरिएअनुसार पर्यटकलाई स्वागत गर्न पाएको छैन ।
भादा होमस्टेमा पर्यटक बढ्न नसक्नुको मुख्य कारण बाटोको समस्या र सेवा सुविधाको अभाव रहेको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए । । ‘धनगढीबाट दूरी छोटो भए पनि बाटो अझै राम्रो बनिसकेको छैन’, उनले भने, ‘बाटोको समस्याका कारण धेरैभन्दा धेरै मान्छे भादासम्म पुग्दैनन् । यातायातको पनि समस्या छ ।’
होमस्टे घरहरू थारु समुदायको परम्परागत शैलीका छन् । तर, पाहुनाहरूको चाहना ‘अट्याच बाथरुम’ सहित आधुनिक सेवा सुविधाको छ । उर्मीहुँदै भादासम्म पुग्ने सडक निर्माणको कार्य भइरहेको छ । केही वर्षभित्र राम्रो सडक बनेपछि आवतजावत गर्न सहज हुने विश्वास उहाँले गर्नुभयो । त्यस्तै, भादामा पर्यटक आकर्षण कम हुनुको अर्को कारण होमस्टे आवश्यकताअनुसार व्यवस्थित गर्न नसक्नु हो ।
होमस्टे घरहरू थारु समुदायको परम्परागत शैलीका छन् । तर, पाहुनाहरूको चाहना ‘अट्याच बाथरुम’ सहित आधुनिक सेवा सुविधाको छ । होमस्टेमा आएका पाहुनाले खोजेको रिसोर्ट सरहको सुविधा हुने गरी व्यवस्थित गर्न नसक्दा पर्यटकलाई बढी दिन टिकाउन नसकेको अध्यक्ष चौधरीको भनाइ छ ।
यसैबिच, भादा होमस्टेको प्रवर्धन गर्ने उद्देश्यले आजबाट भादामा होमस्टे महोत्सव आयोजना गरिएको छ । चार दिनसम्म आयोजना हुने महोत्सवको करिब ५५ हजार दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।
१५ पुस २०७९, शुक्रवार ०८:२८ बजे प्रकाशित






























