विद्यार्थी नेता चेतन ऐडीको सम्झनामा कैलालीमा वृक्षारोपण
कैलाली । मङ्सिर ४ बाजुरामा हत्या गरिएका विद्यार्थी नेता चेतन ऐडीको सम्झनामा कैलालीमा वृक्षारोपण गरिएको छ । आज कैलाली बहुमुखी क्याम्पस कमिटीको श्रद्धाञ्जली सभा तथा वृक्षारोपण गरेको हो ।
अनेरास्वियु सुदूरपश्चिम विश्वविद्यालय कमिटी अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य ऐडीलाई सम्झिँदै वृक्षारोपण गरिएको कैलाली बहुमुखी क्याम्पस कमिटी अध्यक्ष यमराज जोशीले जानकारी दिए।
अनेरास्वियु कैलाली अध्यक्ष किशोर शाहको प्रमुख आथित्यतामा सुरु भएको वृक्षारोपण कार्यक्रममा अनेरास्वियु सम्बद्ध विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो । उनीहरूले हत्यामा संलग्न सबैलाई कारबाहीको माग समेत राखेका छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बुथ कब्जा गर्न अवरोध गरेको भन्दै ऐडीलाई घरबाट झिकेर बीभत्स हत्या गरिएको थियो ।
१४ पुस २०७९, बिहीवार १६:२७ बजे प्रकाशित






























